आर्मी र एपीएफ प्रधानमन्त्री कपको उपाधिका लागि भिड्ने


हरेकपल January 29, 2021

काठमाडौं । विभागिए टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

फाइनल खेल शनिबार कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा हुने छ । बिहीबार भएको खेलमा आर्मीले बागमती प्रदेशलाई ९४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा नौ विकेट गुमाउँदै २२९ रन बनायो । आर्मीले पाँच रन हुँदा दुई विकेट गुमाएको थियो । हरि चौहान तीन रनमा आउट भए भने रोहित पौडेल बिना रन पेभेलियन फर्किए । अनिल मण्डल पनि दुई रनमा पेभेलियन फर्किए ।

आर्मीले १७ रनमा तीन विकेट गुमाएको थियो । चौथो विकेटका लागि भीम सार्की र लोकेश बमले ५६ रनको साझेदारी गरे । लोकेशले २३ तथा भीमले ४० रन बनाए । विनोद भण्डारीले १०, राजेश पुलामीले ६५, विक्रम शोबले ३५ तथा सुसन भारीले १६ रनको योगदान दिए । बलिङतर्फ बागमतीका गौतम केसी एक्लैले पाँच विकेट लिए ।

दुई सय ३० रनको विजयी लक्ष्य पछ्याएको बागमतीले ४० दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । बागमतीले १८ रन बनाउँदा पाँच विकेट गुमाएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र विपीन आचार्यले ५८ रनको साझेदारी निभाए । विपीनले २३ र ज्ञानेन्द्रले ४७ रन बनाए ।

बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले चार तथा विक्रम सोब र सुसन भारीले तीन तीन विकेट लिए ।