प्रचण्ड–नेपाल समूहको निर्वाचन आयोगलाई पत्र : माघ १८ पछि मात्रै छलफल आयोजना गर्न अनुरोध


हरेकपल January 29, 2021

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई एक पत्र बुझाएको छ ।

प्रचण्ड–नेपाल समूहका दोस्रो तहका नेताहरु कान्तिपथस्थित आयोग कार्यालय पुगेर माघ १८ गतेपछि मात्रै छलफलको आयोजना गर्न निर्वाचन आयोगलाई अनुरोध गरेका छन् ।

प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल माघ १८ गतेसम्म उपत्यकाबाहिरका कार्यक्रममा व्यस्त छन् । सोही कारण देखाउँदै छलफल आयोजना पछि सार्न भनिएको हो ।

आयोगले आज शुक्रबारका लागि नेकपाका दुवै समूहलाई छलफलमा बोलाएको थियो । दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यकाबाहिरका राजनीतिक कार्यक्रममा व्यस्त रहेका कारण प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलका लागि अध्यक्ष स्वयम् उपस्थित भई छलफल गर्न चाहेको पत्रमा भनिएको छ ।

प्रचण्ड–नेपाल समूहका राजेन्द्र पाण्डे र लीलामणि पोखरेलले आयोग कार्यालय पुगेर आज तोकिएको समयमा उपस्थित हुन सम्भव हुन नसकेको व्यहोरा अवगत गराएका हुन् ।

ओली समूहका तर्फबाट कृष्णगोपाल श्रेष्ठ र रामेश्वर फुयाँल आयोग पुगेका थिए । उनीहरुले आफूहरु छलफलका लागि तयार रहेको जानकारी गराएका थिए ।