सहिद


हरेकपल January 30, 2021

अमित संग्रौला

कक्षा तीनमा नेपाली विषय पढाइ रहनु भएको सरले रामलाई सोध्नुभयो– ‘तिमी भविश्यमा के बन्छौ ?’
रामले भन्यो – ‘सर, म पाइलट बन्छु ।’

हरिलाई पनि यही प्रश्न सोध्नुभयो ।
– ‘सर, म त आर्मी बन्छु ।’ उत्साहका साथ भन्यो उसले ।

–‘अनि सरु तिमी के बन्छौ ठूलो भएपछि ?’
सरुले भनिन् – ‘बाबाले ठूलो भएपछि नर्स बन्नुपर्छ भन्नुभएको छ ।’

यसैगरी यही प्रश्न सबैलाई सोध्दै जानुभयो सरले । जवाफमा कसैले के भने, कसैले के !

नवराजले भने बडो फुर्तीका साथ कसैले नसोचेको कुरा भन्यो–  ‘सर म सहिद बन्छु।’
सरले अचम्म पर्दै हेर्नुभयो उसलाई र सोध्नुभयो– ‘किन नि !’
उसले जुरुक्क उठेर छातीमा हात राख्दै भन्यो– ‘सर, देशले धेरै दुःख पाएको छ । हामीले धेरै दुःख पाएका छौँ । त्यसैले म सहिद बन्छु । मरेपछि अमर पनि हुन्छु । इतिहासमा नाम पनि लेखिन्छ ।’