म नारी दुवै हूँ


हरेकपल January 30, 2021


रत्ननिधि रेग्मी ‘शुक्राचार्य’  

म नारी  दुवै हूँ आगो र पानी
म हावा कतै हूँ कतै हूँ खरानी
कतै  मेघमाला कतै हूँ  खडेरी
सबैका सबैमा म ता हूँ छहारी ।।१।।

कतै फूलजस्ती बनी कोमलाङ्गी
कतै झूलजस्ती  भई भावभङ्गी
कतै स्वर्णआभा  प्रभाती सरीकी
कतै रातजस्तै  अँध्यारो झरेकी ।।२।।

कतै ज्ञानगङ्गा धरामा बगेकी
कतै मूर्खता, मूढतामा  अडेकी
कतै हूँ पियारी, कतै हूँ हियारी
कतै जल्नलाई  भएकी पियारी ।।३।।

हिँडेकी कतै हूँ वासना मग्मगाई
रहेकी कतै हूँ सती  डग्मगाई
कतै वृक्षजस्तो तपस्या गरेकी
कतै पात जस्तै जवानी झरेकी ।।४।।

म ता एक नारी सबैतिर पुग्दी
कसैमा कहीँ नै कहिल्यै नपुग्दी
कतै एक शोभा कतै हूँ  उजाड
सबै ढाकिएकी म नै हूँ  बजार ।।५।।

छ मेरो विनाको जुनी  अन्धकार
जहाँ सभ्यता नै कुनै लाग्छ पार
म हेला बनौँ वा कि फेला परौँ कि
म नारी पियारी  कडी  मित्रताकी ।।६।।

म नारी  सबै यो  धराकी  पुजारी
म आमा, सखी हूँ, र छोरी, बुहारी
म नाता, विनाता, समानै हूँ  दृष्टि
विना आज नारी  अपूरो छ  सृष्टि ।।७।।
===