म जहिले पनि कुर्सीका चार खुट्टा


हरेकपल January 30, 2021

ओम आचार्य

सुतिरहेको थिएँ
मुलुकको चार दिशाबाट
चारवटा आत्मा आएर
म भित्र पसे
मैले हेर्ने आँखा
सोच्ने मस्तिष्क
र बोल्ने मुख
अचेल–
धर्मभक्त, गंगालाल, शुक्रराज र दशरथचन्द्र
हुन थालेका छन् ।

तिमीले प्रयोग गरिरहेको
स्पिकरबाट
तिम्रो आवाज हैन
तिम्रो भावना हैन
मेरो आवाज र भावना
अभिव्यक्त हुनुपर्थ्यो
यहाँसम्म कि
त्यो स्वर
मेरो स्वर हुनुपर्थ्यो ।

पारदर्शी सिसामा कैद भएको
तस्बिरमा मात्रै फूल चढाइन्छ
ढुङ्गाबाट निर्मित
सालिकलाई त माला लगाइन्छ
तर
त्यो विचारलाई
त्यो भावनालाई
कहिल्यै फूलको माला लगाइएन ।

मञ्चमा चढे उनीहरू
तस्बिरहरूलाई चढाए
तर त्यहाँ
त्यो विचार चढेन ।

म जहिल्यै पनि टेबुलमा
हिजो पनि टेबुलमा
आज पनि टेबुलमा
जसले राखे पनि टेबुलमा
कुर्सीका चार खुट्टाहरू भएँ
बस्ने त अरू नै !

जहिल्यै पनि विरुद्ध लडेँ
जसको विरुद्धमा लडेँ
र सहिद भएँ
मेरै सालिकमा अडेस लागेर
मेरै सालिकमा जिउ अडाएर
सहिद बनाउनेको सालिकलाई
रङरोगन र मर्मत गरी
अझ क्रूर बनाइयो
र यसरी
फेरि एकपटक
विचार सहिद भयो !