दासहरू


हरेकपल January 30, 2021

रामप्रसाद पन्त

बनाइँदैनन् कोही दासहरू
बन्छन् स्वयम् दासहरू
कोही देवसासहरू
कोही राजदासहरू ।

कति बाठा देवदास र राजदासहरू
लोभ्याउँछन् दासाकाङ्क्षीहरूलाई
र, बनाउँछन् दासहरू
चारो फ्याँक्छन् चरालाई जस्तै
पुरो फ्याँक्छन् कुकुरलाई जस्तै
अनि त, भुरुर्र उडेर जान्छन् चारो टिप्न
गुरुर्र दौडेर जान्छन् पुरो चाट्न
देवदासहरू/ राजदासहरू ।

आफ्नो भन्ने चिन्दैनन् उनीहरू
आफ्नो भन्ने बुझ्दैनन् उनीहरू
बुझेर पनि बुझ पचाइदिन्छन् उनीहरू
बच्चा भोकाएको पनि वास्ता गर्दैैनन् उनीहरू
बूढाबूढी रोगाएको पनि याद गर्दैनन् उनीहरू
दास बन्न रुचाउनेहरू
दासतामा रमाउनेहरू ।

कस्तो मोह हो कुन्नि यो दासताको ?
कस्तो चाह हो कुन्नि यो दासताको ?
दास बनेकोमा गौरव !
दास बन्न पाएकोमा गौरव !
===