भारत जान हिँडेका नेपाली गड्डाचौकीमा अलपत्र


हरेकपल January 30, 2021

महेन्द्रनगर । भारत जान हिँडेका नेपालीहरु गड्डाचौकीमा अलपत्र परेका छन् ।

शुक्रबार कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द गरिएका चीन र भारततर्फका केही नाका खोल्ने सरकारले निर्णय गरेको थियो । गृह मन्त्रालयले ३० वटा नाका खोल्न परिपत्र गरे पनि आवश्यक तयारी नपुगेको भन्दै गड्डाचौकी नाका खोल्न सुरक्षाकर्मीले मानेका छैनन् ।

यसअघि सीमा नाका बन्द हुँदा सरसामग्री खरिद, आफन्त भेटघाट र खेतीपातीका काममा समेत असहज हुँदै आएको थियो  ।

सुरक्षाकर्मीले नाका नखुलेको बताएपछि आफूहरू अलपत्र परेको भारत जान हिँडेका राकेश मगरले बताए । औपचारिक जानकारी नआएको भन्दै सीमा नाकामा खटिएका सुरक्षाकर्मीहरूले फर्काउन थालेपछि भारत जान हिँडेकाहरू सीमा नाकामै अलपत्र परेका हुन् ।

सरकारले शुक्रवारदेखि नाका खोल्ने निर्णय गरे पनि आन्तरिक तयारीका कारण शुक्रवार नाका खोल्न नसकिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । नाका खुलेको सुनेर भारत जान हिँडेका सयौँ युवाहरू गड्डाचौकीको सीमा क्षेत्रमा अलपत्र परेका छन् ।

यस्तै बाराको सिमरौनगढ र मटिअर्वा नाका आजदेखि मात्रै खोल्ने तयारी रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।