तेस्रो दिनसम्म ४६ हजारले कोरोना खोप लगाए


हरेकपल January 30, 2021

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको तेस्रो दिन शुक्रवारसम्म ४६ हजार १९७ जनाले खोप लगाएका छन् ।

७७ जिल्लाका १६९ खोप केन्द्रबाट खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

अभियानको पहिलो दिन ६४ जिल्लामा खोप लगाइएकामा शुक्रवार ७७ वटै जिल्लामा खोप लगाइएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार तेस्रो दिन शुक्रवारसम्म प्रदेश १ मा सात हजार ३६९ जनाले खोप लगाए भने प्रदेश २ मा चार हजार ६५० र वाग्मतीमा १५ हजार ६४१ जनाले खोप लगाएका छन् ।

त्यस्तै गण्डकीमा सात हजार १५३, लुम्बिनीमा चार हजार ६३५, कर्णालीमा २ हजार ९६६ र सूदूरपश्चिममा तीन हजार ७८३ जनाले खोप लगाएका छन् ।

खोप लगाएका केही व्यक्तिमा सामान्य असर देखिएको भए पनि उनीहरूमा केही समयमा असर हराएको र जटिल खालको असर अहिलेसम्म कसैलाई नदेखिएको गौतमले बताए ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप सरकारले केही दिनअघि ल्याएको थियो । आउँदो १० दिनभित्र चार लाख ३० हजार जनालाई पहिलो चरणको खोप दिने सरकारको योजना छ ।