दश वर्षसम्म आमाको शव फ्रिजमा लुकाउने जापानी महिला पक्राउ


हरेकपल January 31, 2021

एजेन्सी । जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

आमाको मृत्यु भएको थाहा भएपछि घर छोड्नुपर्ने डरले शव फ्रिजमा राखेको ती महिलाले बताएकी छिन् । ४८ वर्षीया युमि योशिनोलाई आमाको मृत शरीरलाई अन्तिम संस्कार गरी व्यवस्थापन गर्नुको सट्टा फ्रिजमा लुकाएर राखेको आरोपमा पक्राउ गरिएको छ ।

मृत शरीर एक दशकदेखि टोकियोको एक अपार्टमेन्टमा फ्रिजभित्र राखिएको थियो । योशिनोलाई टोकियो नजिकैको चिबा शहरको एउटा होटलबाट पक्राउ गरिएको बताइएको छ ।

मृत्यु हुँदा उनकी आमाको उमेर ६० वर्ष रहेको हुनसक्ने स्थानीय प्रहरीले जनाएको छ । योशिनोलाई भाडा भुक्तानी नगरेपछि जनवरीको मध्यतिर अपार्टमेन्ट छोड्न भनिएको थियो ।

त्यसपछि कोठाको सरसफाई गर्ने एक व्यक्तिले ती महिलाको कोठामा फ्रिजभित्र लुकाइएको शव फेला पारेका थिए ।