कञ्चनपुरमा नक्कली नोटसहित दुई पक्राउ


हरेकपल January 31, 2021

कञ्चनपुर । कञ्चनपुरमा नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नोटसहित उनीहरुलाई शनिबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँका २२ वर्षीय इन्द्रसिंह राना रहेका छन् ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टमा तैनाथ सुरक्षाकर्मीले उनीहरुलाई पचुँइबाट पक्राउ गरेको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दले बताए ।

उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २०० थान, नक्कली नोट हजार दरको पाँच , मोबाइल फोन दुई थान, नगद रु १६०, मोटरसाइकलको लाइसेन्स, ब्लुबुक बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए।

पक्राउ परेका दुवैलाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारवाहीका लागि प्रहरीलाई बुझाएको छ ।