एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई)ले आफ्नो देशको विकासका लागि काम गर्न सक्ने ‘होनाहार’ विदेशीलाई नागरिकता दिने भएको छ।
युएईको विकासमा बढी भन्दा बढी योगदान गर्न सक्ने विदेशीलाई नागरिकता दिइने भएको हो। युएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तुमले युएईलाई अझ राम्रो बनाउन सक्ने लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारजस्ता क्षमतावान् व्यक्तिलाई नागरिकता दिन लागिएको बताएका छन्।
यस्ता व्यक्ति र उनीहरूका परिवारले पनि दोहोरो नागरिकता राख्न पाउने उनको भनाइ छ। कम आय भएका व्यक्तिले यो प्रावधानमार्फत नागरिकता पाउन भने कठिन छ।
यो प्रावधानको उदेश्य युएईको विकासका लागि योगदान गर्न सक्ने व्यक्तिहरुलाई आकर्षित गर्नु रहेको छ । यसका लागि कुनै आवेदन प्रक्रियाको आवश्यकता पर्ने छैन।
युएईका शाही परिवारका सदस्य र अन्य अधिकारीले नागरिकता दिन मिल्ने व्यक्ति छनौट गर्ने छन् । मन्त्रिपरिषदले त्यसलाई स्वीकृति दिने छ।
कोरोनाभाइरसको महामारी र तेलको मूल्यमा भारी गिरावट भएपछि धेरै विदेशीहरूले युएई छोडिरहेका बेला यस्तो निर्णय गरिएको हो।