प्रधानमन्त्री ओली हिन्दु राज्य बनाउने प्रयासमा लागेको आरोप


हरेकपल January 31, 2021

प्रधानमन्त्री केपी ओलीलाई हिन्दु राज्य बनाउने प्रयासमा लागेको आरोप लागेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले यस्तो दाबी गरेका हुन् ।

आइतबार प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले प्रधानमन्त्री ओलीले २३ गतेको जनसभामा नै हिन्दु राज्य घोषणा गर्ने चर्चा रहेको बताए । प्रधानमन्त्री ओली पक्षले पुस २३ गते काठमाडौँमा गर्ने भनेको जनसभामा राजावादीहरु पनि सहभागी हुने कुरा सुनेको उनले बताए ।

नेकपा प्रचण्ड–माधव पक्ष स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री ओली प्रतिक्रियावादीको मतियार बनेर इतिहासको कुपात्र बनेको भन्दै उनले ओलीबाट थप कदम सम्भव नभएको बताइन् । ओलीले संविधानलाई समाप्त गरी हिन्दु राज्य स्थापनाको षडयन्त्र गरेको उनले बताइन् ।

नेकपाले पुस १४ गतेदेखि माइतीघर मण्डलामा जारी धर्ना आइतबार समाप्त गरेको छ । २१ गतेसम्मको पूर्वनिर्धारित कार्यक्रम भए पनि आगामी संघर्षको कार्यक्रमको तयारीमा लाग्नुपर्ने भएकोले आइतबार नै धर्ना कार्यक्रम समाप्त गरिएको नेकपाले जनाएको छ ।