म्यानमारमा सेनाले कु गरेर नेतृ आङ सान सुकीलाई गिरफ्तार गरेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्यसको विरोध गरेका छन् । देउवाले सुकीलाई तत्काल रिहा गर्न र निर्वाचित सरकार पुनर्स्थापना गर्न म्यानमारको सेनालाई आग्रह गरेका छन् ।
म्यानमारको सेनाले सोमबार बिहान म्यानमारका राष्ट्रपति वुइन मिन्ट, नेतृ आङ सान सुचीलगायतका शीर्ष राजनीतिक दल र सरकारी अधिकारीहरुलाई गिरफ्तार गरेको छ ।
सोमबार ट्वीट गर्दै देउवाले लेखेका छन् , ‘आङ सान सुकीलाई तत्काल रिहा गर्नुका साथै निर्वाचित सरकार पुनर्स्थापना गर्न नेपाली कांग्रेस म्यानमारको सेनालाई आग्रह गर्दछ ।’
सेनाले सैन्य कू गरी निर्वाचित सरकार अपदस्थ गरेको छ । निर्वाचनपछिको पहिलो संसद् बैठक बस्नुअघि सोमबार बिहान सेनाले सुकीसहितका नेताहरुलाई गिरफ्तार गरेको हो ।
सरकार असफल भएको आरोप लगाउँदै एक वर्षका संकटकाल लगाइएको म्यानमारको सेनाले जनाएको छ । यसअघि नोभेम्बरमा भएको निर्वाचनमा सेना समर्थित दल पराजित भएको थियो । सेनाले निर्वाचनमा धाँधली भएको आरोप लगाएको थियो ।