मेरो कथामा सन्तोष चौधरी



विपिन शर्मा

धेरै वर्ष भयो ऊ यहाँ नरहेको । तर किन ऊ घरिघरि आइरहन्छ, मेरो ढोका घच्घच्याइरहन्छ ? मैले अझै बुझेको छैन । उसले मलाई जीवनमा धेरै कुराहरू सिकायो । ऊ गएपछि अझ धेरै । मान्छेहरूले उसलाई बिर्सिँदै गए । तर, मैले कैयौँ घटनामा, कैयौँ विषयमा उसलाई केन्द्रबिन्दु बनाएर सोचेको छु । यो जो म लेख्दै छु, लेखी सक्दा एउटा कथा बन्न सक्छ । तर, वास्तवमा यो कथा होइन । बरु यो हो– जीवनको एउटा सानो र अन्तिम अंश – मृत्यु ।

यहीँनिर एकपटक फेरि जन्मन्छ ऊ ।

एकदिन मेरो छिमेकीकी एउटी केटी मरी । मेरी सानी भतिजीले मृत्युको बारेमा मसँग सोधी । मैले खै के भने कुन्नि थाहा छैन । तर उसले केही दिनपछि आफैँ एउटा परिभाषा बनाई मृत्युको – मरेपछि मान्छे कहिल्यै फर्कँदैन, फेरि कहिल्यै आउँदैन, कहिल्यै देखिँदैन । हो, मलाई लागेको थियो, उसले ठीक बुझी । समयसँगसँगै आफूले स्वीकारेका सत्यहरू परिवर्तन हुँदा रहेछन् । त्यसैले त आज म त्यही कुरा गलत मान्छु किनकि सन्तोष चौधरी बारम्बार आइरहन्छ, देखिइरहन्छ, फर्कन्छ….हेर्छ….जान्छ र फेरि आउँछ । ऊ मरेको धेरै वर्ष भयो । सायद सोह्र/सत्र वर्ष । सन्तोष चौधरी मर्दा म आठ कक्षामा पढ्थेँ । मभन्दा एक कक्षा जेठो थियो ऊ ।

थाहा छैन, जीवनलाई अभावले डोहोर्याएको थियो कि जीवनले अभावलाई पिठ्युँ थापेको थियो ! प्रायः सबै उस्तै थिए– नगण्य अपवादबाहेक । पुसको ठिहीमा पनि कसैका खुट्टामा चप्पल हुन्थ्यो ! चैतको गर्मीमा पनि खाली खुट्टाहरू विवश थिए । यिनै समानता या असमानताका बीचमा म थिएँ, सन्तोष थियो र अरू हाम्रा सहपाठीहरू ।

अन्तिम परीक्षा सकिएर नतिजा नआउँदै हामी माथिल्लो कक्षाको किताबको खोजीमा जुट्थ्यौँ । केही वर्षदेखि सजिलो भएको थियो– सन्तोषले पढेको किताब म पढ्थेँ, मैले पढेको उसको भाइले । मलाई राम्रोसँग याद छ– एक वर्ष उसको भाइको लागि मेरो किताब काम नलाग्ने भयो, कारण, पाठ्यक्रम फेरिएको थियो । मैले उसको किताब लिएँ तर बदलामा केही दिन सकिनँ । हाम्रो आर्थिक हैसियतमा खासै भिन्नता नभए पनि मैले भनेँ– ‘यो किताबको आधा मूल्य म दिन्छु, भाइको किताब किन्न केही हदसम्म राहत मिल्छ ।’ तर उसले लिन मानेन । ऊ विद्या बेच्न चाहँदैनथ्यो ।

मैले भन्न छुटाएको कुरा – ऊ त्यो उमेरमा पनि घर र पढाइको खर्च धान्न मजदुरी गर्थ्यो । मैले थाहा पाउँदादेखि नै गोरुगाडा लिएर भाडामा मालसामान बोकेर हाटबजार जाने गर्थ्यो । बिहानै निस्कन्थ्यो र स्कुल समयमा हतारहतार आइपुग्थ्यो । त्यसरी हाट जाँदा ऊ बिहान केही खान्थ्यो कि खाँदैनथ्यो, त्यो मैले उससँग कहिल्यै सोधिनँ । बेलुका स्कुल छुट्टी भएपछि मालसामान फिर्ती ट्रिपको लागि जान्थ्यो । मेरो घरअगाडि उसको गोरुगाडा आइपुग्दा म खाना खाइसकेर कुपीको उज्यालोमा किताब फिँजाइरहेकमो हुन्थेँ । यस मानेमा म पढाइमा ऊभन्दा सबल हुनुमा मैले कुुनै गर्व गर्नुपर्ने कारण थिएन ।

यस्तै थियो जीवनको सामान्य गति र सामान्य गतिमा कहिलेकाहीँ असामान्य परिस्थितिको सामना गर्नुपरेझैँ लाग्थ्यो– जब अभावहरू निर्लज्ज भएर गिज्याउँथे ।

त्यसताका हामीले एउटा नयाँ कुरा पायौँ । त्यसअघि बन्द कोठामा अग्रजहरूको गफगाफमा मात्र सुनिने, प्रजातन्त्र र बहुदलीय व्यवस्था आदिआदि । यिनैलाई नारामा सर्वत्र गुञ्जिएको सुन्यौँ अनि कति बुझेर, कति नबुझी स्वरमा स्वर मिलायौँ । त्यो बेला हामीले मृत्युको बारेमा धेरै थाहा पायौँ । र, थाहा पायौँ– मर्नै परे देशको लागि मर्नुपर्छ । त्यसैबेला सहिद लक्ष्मी पाण्डे प्रेरणा बनिन् सबैको । गाउँगाउँमा उनको सहादतको वास्तविक कथामा, ‘सहिदकी आमा’ नाटक मञ्चन भयो । यही क्रममा उनको पथलाई पछ्याए राम थापाले ।

तर यी सबै कुराले सन्तोषको बारेमा मैले लेख्दै गरेको प्रसङ्गमा खासै महत्त्व राख्दैनन् । यत्तिचाहिँ हो कि प्रजातन्त्रमा सबैले पढ्न, लेख्न पाउने अधिकार सुरक्षित हुन्छ भन्ने कुरा अर्को शैक्षिकसत्र सुरू नहुँदै हाम्रा केही साथीहरूले कमजोर आर्थिक अभावका कारण पढाइ छोड्नुपरेको घटनाले गलत साबित गरिदियो । यो हाम्रो त्यति बेलाको विश्लेषण थियो । हाल ती कुराहरूलाई गम्भीरतापूर्वक सोचिएको छ वा छैन, मलाई थाहा छैन ।

र, यहाँसम्म आइपुग्दा हामीले धेरै कुराहरू जानिसकेको हुनुपर्छ । त्यसैले हाम्रो छलफलको विषयमा ठूलाहरूबाट पनि राय सल्लाह, सहमति/असहमति र यस्तै कति कुरा आउँथे । मान्छेले अपनाउन सक्ने पेशाहरूको बारेमा पनि राम्रै चर्चा गर्थ्यौँ । सुन्थ्यौँ, गाउँबाट उमेर पुगेका चेलीबेटीहरू हराउँछन् । कति केटाहरू पनि यसरी हराउँथे । तर केही महिनामा उनीहरूको खबर आउँथ्यो, कि चिठी कि त स्वयं उनीहरू नै । कोही सामान्य पैसा कमाएर आउँथे । र, छोडेको पढाइलाई निरन्तरता नदिई कुनै काम गर्थे वा पुन: भारत अथवा काठमाडौँ रोजगारीको लागि जान्थे । तर, त्यसरी हिँडेका चेलीबेटीहरूको कुरा अलग हुन्थ्यो, जुन हामी पूर्णरूपमा बुझ्न सक्दैनथ्यौँ ।

सन्तोषको दाजु त्यसैगरी भौँतारिएर खाली हात आएपछि उसमा निराशाका निशानीहरू प्रशस्तै देखेको थिएँ मैले । त्योभन्दा बढी म जान्दिनथेँ । एकदिन हामी स्कुलबाट फर्कँदै गर्दा उसले एउटा कुरा भन्यो– ‘केटी भएर जन्मेको भए केही नहुँदा पनि बेच्ने कुरा हुन्थ्यो, कमसेकम एउटा उपाय त बाँकी रहन्थ्यो– आफ्नै शरीर बेचेर जीवन धान्ने ।’

मैले बुझिनँ उसले भनेको कुरा । यदि बुझ्नुपर्थ्यो भने म स्वीकार्छु– त्यो मेरो भूल थियो । उसको यही वाक्य हो सायद, मैले अन्तिमपल्ट सुनेको । थाहा छैन, यसमा जीवनको कुनै दर्शन छ वा छैन । मेरो विद्वतालाई मैले तिखार्न सकेँ भने यस बारेमा अवश्य चिन्तन गर्ने छु । अन्यथा एउटा साथीको नाताले उसले मसँग गुनासो नगर्ला भनेर सन्तोष मान्नेछु ।

यसको भोलिपल्ट सन्तोष स्कुल आएको मलाई थाहा छैन । पर्सिपल्ट स्कुल लागेर पहिलो कक्षामात्र के सिद्धिएको थियो, हल्ला चल्यो– स्कुलको एक विद्यार्थी रहेन । तर को ? थाहा भएन । करिब आधा घण्टाको अन्यौलपछि सबैलाई प्रार्थनास्थलमा बोलाइयो । स्कुलका प्रधानाध्यापकले सन्तोष चौधरी नरहेको जानकारी दिँदै मौनधारण गर्न लगाउनुभयो र स्कुल छुट्टी भयो । मेरो लागि जीवनमा यो पहिलो घटना थियो, मेरो समकालीनको मृत्यु भएको । भन्न सक्तिनँ, मनमा कुन व्याकुलताले आक्रमण गर्यो ? के भयो एकै दिनमा अस्तिको दिनसम्म साथ हिँडेको साथीलाई !

एकाधबाहेक प्रायः सबै उतैतिर लागे । भीडभाड र रुवावासी थियो । म हेर्न चाहन्थेँ । कुरा सत्य हो भन्ने थाहा हुँदाहुँदै पनि विश्वास लागिरहेको थिएन । तर धेरै भीड भएकोले मैले उसलाई हेर्न पाइनँ ।

कहिल्यै प्रहरी नआउने हाम्रो गाउँमा प्रहरीहरू पनि आएका थिए । खेतमा एक झुण्ड मान्छे थिए । उनीहरू सन्तोषका नातेदार, छिमेकी र साथीभाइसँग सोधपुछ गर्दै थिए । हामी पनि त्यतै लाग्यौँ । धान मडारिएको थियो, त्यतिबेला भदौ–असोजको महिना हुनुपर्छ । मैले गराको छिप्छिप पानीमा झरेको कलम देखेँ । हुन सक्थ्यो त्यो अहिले कसैले झारेको होस् । तर, मैले टिप्न सकिनँ । प्रहरीलाई भनेँ । उनले टिपे । मैले चिनेँ, त्यो कलम सन्तोषको थियो । थाहा छैन, त्यसले अन्तिमपटक के लेख्यो ?

हामी फेरि उसको घरतिर फर्क्यौ । भीड कम भइसकेको थियो । लाग्थ्यो, आँगनमा एक हल गोरु पनि शोकमा डुबेका थिए । गोरुगाडा निरीह देखिन्थ्यो । मलाई लाग्यो, त्यहीँ छेउको खटियामा थाकेर मीठो निद्रा सुतिरहेको छ सन्तोष । यथार्थ जीवनसँग ऊ त्यति थाकेछ कि त्यसपछि ऊ कहिल्यै उठेन, मेरो स्मृतिमा बाहेक ।

मैले यतिका वर्षपछि उसको बारेमा लेख्न खोजेँ । किन ? थाहा छैन । र यो पनि थाहा छैन, उसले उठाएको कदम ठीक थियो वा थिएन । म आजकाल आत्महत्याको बारेमा धेरै कुराहरू सुन्छु, थाहा पाउँछु । कति मान्छेहरू यसलाई कायरता भन्छन् । मेरो आफ्नो कुनै धारणा छैन र कहिलेकाहीँ सपनाजस्तोमा एक हूल मानिसहरूले मेरो निरीह सन्तोषलाई निर्मम कुटिरहेको देख्छु । कस्तो भ्रम ?

डा. शर्मा भन्नुहुन्छ, ‘इमोशनल स्ट्याविलिटी चाहिन्छ ।’ म खोज्दै छु, भेटेको छैन ।