अनन्त उडान



मनमा पखेटाहरू
कुन कालबाट पलाए होलान् !
जताततै उडाएर मनलाई
पहिलो पटक पक्षी कस्ले बनायो होला !

प्रेममा परेर पहिलो पटक
स्नेहगीत कस्ले रच्यो होला ?
कस्ले दियो होला
मायाको पहिलो रातो गुलाफ !
कस्ले उडायो होला
पातमा मनको हाल
परेवालाई बोकाएर !

कस्तो होला सृष्टिको
त्यो पहिलो आलिङ्गनको अपूर्व आभास !
मयूरपङ्खी स्पर्शका तरङ्गहरूको आनन्द !

जीवनको उद्गम कालमा प्रियतमा बन्ने
सौभाग्यशाली शकुन्तला को होला !
अमरप्रेमको कथा रच्ने
पहिलो जोडी को होला !

उग्र रिसाएर
को होला विरही श्लोक उमार्ने पहिलो दुर्वासा !
धोका पाएर
को होला त्यो बहुलाउने पहिलो प्रेमी !

प्रथम मानव मनको निरन्तरता
जून र घामसँग लुकामारी खेल्ने प्रेम
कति कालसम्म बाँची रहला !
प्रेमिल मनहरूको अनन्त उडान
सजाएर आकाशमा ।