स्थानीय तहको निर्वाचन मितिबारे आयोग र विज्ञसँग छलफल गरिने


हरेकपल January 21, 2022

सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे अब निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ पाँच दलीय गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको शुक्रबार बसेको बैठकले स्थानीय तह निर्वाचनबारे द्विविधा देखिएको उल्लेख गर्दै त्यसलाई प्रष्ट पार्न निर्वाचन आयोग र संविधानविद्हरुसँग छलफल गर्ने निर्णय गरेको हो ।

यसअघि स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन मितिलाई आधार मानेर स्थानीय तहको निर्वाचनको मिति तोक्ने भन्ने विषयमा अलमल देखिएको भन्दै निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गरेर अघि बढ्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


उनले वैठक पछि सञ्चारकर्मीसँग भने ‘स्थानीय तहको निर्वाचन कसरी सम्पन्न गर्नेबारे छलफल भयो । संविधान र कानुनमा केही द्विविधा रहेको, त्यो द्विविधालाई कसरी हटाउने भन्नेबारे छलफल भयो । स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन निर्वाचनलाई सुरु मिति मानेर पाँच वर्ष पूरा भएको भन्ने अन्यौल रहेको छ ।

त्यस सम्बन्धमा सत्तारुढ गठबन्धनले संविधानविद् र निर्वाचन आयोगसँग छलफल गर्ने समझदारी बनेको छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन पछि गरेर पहिला संघीय संसदको निर्वाचन गराउनुपर्ने प्रस्ताव गरेका थिए । तर त्यस प्रस्तावको चौतर्फी आलोचना भएपछि प्रचण्ड आफ्नो प्रस्तावबाट पछि हटेका थिए भने शुक्रबार नै सार्वजनिक सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्धारित समयमा तीनै तहको निर्वाचन हुने बताएका थिए ।