देशभर बदली, केही ठाउँमा पानी पर्ने


हरेकपल January 22, 2022

काठमाडौँ । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भएको मौसमविद्ले बताएका छन्।

हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र प्रदेश १ मा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ। तराईका भूभागका केही स्थानमा हुस्सु–कुहिरो लागेको छ।

शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

यसैबीच देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।