फेसबुक स्थापनाका अठार वर्ष पूरा : प्रयोगकर्ता घट्दै


हरेकपल February 4, 2022

एजेन्सी । अठार वर्ष अघि सन् २००४ को फेब्रुवरी ४ मा सामाजिक सञ्जाल फेसबुकको स्थापना भएको थियो । मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा हुँदा सँगै बस्ने सहपाठी साथीहरू, एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका हुन् ।

सुरूमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरू माझ मात्र सीमित फेसबुक अहिले प्रायः देशमा प्रयोगमा छ । सामाजिक नेटवर्क सेवा फेसबुकका एक अर्ब भन्दाबढी सक्रिय कार्यकर्ता छन् ।

प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन् । आफ्नो प्रोफाइल अध्यावधिक गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउन सक्दछन् । सामाजिक सञ्जाल फेसबुकको १८ वर्षे इतिहासमा पहिलो पटक दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या घटेको छ ।

फेसबुकको मातृ कम्पनी मेटाका अनुसार दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या सन् २०२१ को अन्तिम तीन महिनामा एक अर्ब ९२ करोड ९० लाख रहेको थियो । त्यसअघिको त्रैमासिकमा त्यस्ता प्रयोगकर्ताको सङ्ख्या एक अर्ब ९३ करोड थियो ।

फेसबुक अस्तित्वमा आएयता हरेक त्रैमासिकमा विश्वव्यापी आँकडा सधैँ उक्लिएको थियो । तर पछिल्लो केही वर्षमा युरोप र अमेरिकामा वृद्धि रोकिन पुगेको छ ।

मेटाले टिकटक र युट्युबजस्ता प्रतिद्वन्द्वीले विज्ञापन लैजाँदा आफ्नो आम्दानी पनि कम हुनसक्ने जनाएको छ । विवरण आएको केही घण्टापछि नै न्युयोर्कमा मेटाको शेयर मूल्य २० प्रतिशतभन्दा बढीले घटेको थियो ।

यो गिरावटले कम्पनीको मूल्यमा झण्डै दुई सय अर्ब डलर ह्रास आएको बीबीसीले जनाएको छ । ट्विटर, स्न्यापच्याट र पिनट्रिस्टको मूल्य पनि खस्किएको छ ।

फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कम्पनीको विस्तारमा बाधा पुग्नुको कारण प्रतिस्पर्धी माध्यममा युवाहरूको आकर्षण बढ्नु भएको बताउनुभएको छ । गुगलपछि विश्वको दोस्रो ठूलो डिजिटल विज्ञापन प्ल्याटफर्मको स्वामित्व मेटामा रहेको छ ।