आख्यानकार बिन्द्या सुब्बा र कवि सुमन पोखरेललाई पुरस्कृत गर्ने घोषणा


हरेकपल March 21, 2022

विराटनगर । श्री बबरसिंह, देवकुमारी थापा सेवा गुठी, विराटनगरले ‘देवकुमारी थापा स्मृति सम्मान तथा पुरस्कार २०७८’ बाट आख्यानकार विन्द्या सुब्बालाई र ‘बबरसिंह थापा स्मृति सम्मान तथा पुरस्कार २०७८‘ बाट कवि तथा अनुवादक सुमन पोखरेललाई पुरस्कृत तथा सम्मानित गर्ने घोषणा गरेको छ ।

पाँच दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको कविता र आख्यान विधामा दिएको योगदानका लागि साहित्यकार सुब्बालाई ‘देवकुमारी थापा स्मृति सम्मान’ र तीन दशकभन्दा बढी समयदेखि साहित्यको कविता विधा सिर्जना र अनुवादमा राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा दिएको योगदानका लागि कवि सुमन पोखरेललाई ‘श्री बबरसिंह थापा स्मृति सम्मान’ प्रदान गरिने घोषणा गरिएको हो ।

साहित्यकार प्रमोद प्रधान, प्राज्ञ विवश पोखरेल तथा दिनेश श्रेष्ठ रहेको तीन सदस्यीय समितिले गरेको सिफारिसअनुसार संस्थाका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा बसेको गुठीको कार्य समितिको बैठकले उक्त पुरस्कार सम्मान दिने निर्णय गरेको हो । पुरस्कार सम्मानको राशि क्रमशः एकाउन्न हजार र पच्चीस हजार रुपैयाँ रहेको छ ।

यसअघि ‘देवकुमारी थापा स्मृति सम्मान तथा पुरस्कार’बाट इन्द्रबहादुर राई, मदनमणि दीक्षित, सत्यमोहन जोशी, बालकृष्ण पोखरेल, दुर्गालाल श्रेष्ठ, बैरागी काइँला, चूडामणि बन्धु, तुलसी दिवस, मञ्जुल र ‘बबरसिंह थापा स्मृति पुरस्कार’बाट प्रा.डा. रामबहादुर थापा, जनकमोहन अधिकारी, दीपक आलोक, कुन्ता शर्मा, गायत्री श्रेष्ठ, नवराज सुब्बा, धीरेन्द्र प्रेमर्षी, जयप्रसाद पाण्डे, प्रमोद प्रधान, मोमिला, लक्ष्मी उप्रेती, विमल वैद्य, बुलु मुकारुङ, विक्रमश्री लगायतका स्रष्टाहरू पुरस्कृत र सम्मानित भैसकेका छन् ।

उक्त पुरस्कार आगामी २०७९ साल वैशाख तीन गते विराटनगरमा समर्पण गरिने छ ।