सोझो गाउँलेलाई पाँच प्रश्न



१) ‘म कवि बन्छु, कविता कृति प्रकाशन गर्छु’ भन्ने विचार मनमा कहिले र कसरी आयो ?

एसएसली दिएपछि आयो । कक्षा ११र१२ पढ्दा झाँगियो । स्कुल पढ्दा नेपाली पाठ्यपुस्तकभित्रका कविताहरु अरू पाठभन्दा बढ्ता मन पर्थे । कविताका पाठ दोहोर्याई दोहोर्याई पढ्थेँ । त्यस्तै कविता आफूले पनि लेख्न पाए हुन्थ्यो लाग्थ्यो । पछि कविता लेख्न थालियो । तीनचार दर्जन जति लेखिसकेपछि कविताको किताब छाप्न पाए हुन्थ्यो लाग्न थाल्यो । त्यतिबेलाको दश जोड दुई पास गरेपछि स्नातक पढ्न काठमाडौँ आइयो र कविताको किताब छापियो ।

२) कविता आफ्ना लागि लेखिन्छ कि पाठकका लागि या दुवैका लागि वा अरू केहीका लागि ?

आफ्ना लागि लेख्ने वा पाठकका लागि लेख्ने भन्ने कुरा फरक हैनन्। आफ्ना लागि लेख्नु नै पाठकका लागि लेख्नु हो । पाठकका लागि लेख्नु नै आफ्ना लागि लेख्नु हो । मेरो विचारमा कविता आफ्ना लागि र पाठकका लागि जरुर लेखिन्छ । आफ्ना लागि र पाठकका लागि भनिसकेपछि ‘वा अरू केहीका लागि ?’ भन्ने प्रश्नको जबाफ दिन आवश्यक पर्दैन जस्तो लाग्छ ।

३) काव्यका सन्दर्भमा तपाईंले आजसम्म पनि बुझ्न नसकेको कुरा के हो जस्तो लाग्छ ?

के चाहिँ गर्यो भने राम्रो काव्य रचना गर्न सकिन्छ ! काव्यका सन्दर्भमा मैले आजसम्म बुझ्न नसकेको कुरा यही हो । हुन त म काव्यकै विद्यार्थी हुँ, वषौँदेखि काव्य साधनामै लागेको छु तर यो कुरा बुझ्न सकेको छैन ।

४) तपाईंको भर्खरै प्रकाशित कविता सङ्ग्रह ‘मरुभूमिमा हिमपात’ का कवितालाई चार भागमा बाँड्नु भएको छ । तिनमा कुन खण्डलाई बढी महत्त्व दिनुहुन्छ र किन ?

म चारवटै खण्ड अर्थात् देश, परिवेश, जीवन र प्रेमलाई उत्तिकै महत्त्व दिन्छु किनभने चारवटै खण्डका कविता मैले रहरले लेखेको हुँ । कुनै पनि खण्ड करले लेखेको हैन ।

५) अहिलेको नेपाली कविताको केन्द्रीय धार कुन हो ?

अहिले चलिरहेकोलाई समसामयिक धारा भन्ने गरिन्छ । यसमा सबै किसिमका वाद, विचार, धार र प्रवृत्तिहरू समाहित छन् । कुनलाई केन्द्रीय मान्ने भन्ने कुरा कुन आधार र मानदण्ड अपनाएर मूल्याङ्कन गर्ने, त्यसमा भर पर्छ । त्यत्तिकै यही धार मुख्य वा केन्द्रीय हो भनेर भन्न मिल्दैन । कुनै एउटालाई केन्द्रीय र अरूलाई परिधीय मान्ने जमाना पनि रहेन अब ।