काठमाडौँ । नेपाली लेखक संघको सातौँ अधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरूलाई उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था लि. र सूचना चौतारी सञ्चार सहकारी संस्था लि.ले राजधानीमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना ज्ञापन गर्यो ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद माननीय राधा घलेले खादा लगाई बधाई ज्ञापन तथा सम्मान गर्नुभएको थियो । बधाई ग्रहण गर्नेहरूमा नेपाली लेखक संघका निर्वाचित अध्यक्ष– तीर्थ श्रेष्ठ, उपाध्यक्ष– डा. शैलेन्दुप्रकाश नेपाल, महासचिव– सोझो गाउँले, उपमहासचिव– श्रीबाबु कार्की, सचिव– शशी थापा पंडित, सदस्यहरू– नारायण सापकोटा, राधिका गुरागाईं, बाबुराम चालिसे ‘बाबुसाहेब’, महेन्द्र वाग्ले, अन्जना पौडेल, गीता रेग्मी, मनोज न्यौपाने, नवीनचन्द्र घिमिरे, हेमप्रभास लगायतका स्रष्टाहरू हुनुहुन्थ्यो ।

नवनिर्वाचित लेखकलाई शुभकामना दिने क्रममा प्रमुख अथिति राधा घलेले भन्नुभयो, ‘हामीले पाएको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नमा स्रष्टाहरूका लेख रचनाहरू महत्वपूर्ण माध्यम हुन् । अब यो उपलब्धिलाई दिगो र स्थायी बनाउनका लागि पनि यहाँहरूका रचनाको उत्तिकै जरुरी छ ।’
कार्यक्रममा सभापति विपिन शर्माले नेपाली लेखक संघको नवनिर्वाचित कार्यसमितिको सफल कार्यकालको कामना गर्दै भन्नुभयो, ‘उपलब्धि बहुउद्देश्यीय सहकारी र सूचना चौतारी सञ्चार सहकारी यी दुवै संस्थाले स्थापना कालदेखि नै साहित्यलाई एउटा हिस्साका रूपमा अगाडि बढाएका छन् । स्रष्टाहरूलाई सदस्यका रूपमा भित्र्याउने र साहित्यिक गतिविधिको समन्वय गर्ने हाम्रो लोभ हो । लेखनलाई व्यवसायिकतातिर लैजाने विषयमा भोलिका दिनमा नेपाली लेखकसंघसँग हामी निरन्तर संवाद र सहकार्यको अपेक्षा गरेका छौँ ।’
अर्का अतिथि साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेलले शुभकामना व्यक्त गर्ने क्रममा साझा प्रकाशन सबैको साझा भएको र यसको इतिहास गौरवमय, भविष्य अत्यन्त उज्ज्वल भएर पनि वर्तमान शून्य भएको तथ्यलाई पनि राख्नुभयो र सबैको सहयोगको अपेक्षा पनि गर्नुभयो ।
अतिथि निरञ्जन सेढाईंले सहकारीको आत्मीय मन छुने गरी यहाँहरूको कार्यकाल पनि सम्पन्न होस् र नेपाली लेखक संघको उचाइ पनि बढोस् भन्ने भाव व्यक्त गर्दै शुभकामना प्रकट गर्नुभयो ।
लेखक संघको निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिने क्रममा साहित्यकार तथा सामाजिक अभियन्ता होमराज आचार्यले समाजले देख्न नसकेका कुरालाई दृश्यमा ल्याउन साहित्यकारको ठूलो भूमिका रहने कुरा बताउनुभयो । उहाँले भन्नुभयो, ‘साहित्यको सेवा भनेको समाज परिवर्तनका लागि कामा गर्नु पनि हो ।’
अतिथि प्रा.डा. डिल्लीराम दाहालले शुभकामना दिने क्रममा संस्था सञ्चालन गर्न आइपर्ने समस्याहरूको चर्चा गर्दै आर्थिक रूपमा संस्थालाई सबल बनाउन सुझाव दिनुभयो ।
नेपाली लेखक संघको नयाँ कार्यसमितिको तर्फबाट बधाई तथा शुभकामना ग्रहण गर्ने क्रममा नवनिर्वाचित अध्यक्ष तीर्थ श्रेष्ठले भन्नुभयो, ‘तपाईंहरूले दिनुभएको शुभकामना र बधाई हाम्रो निम्ति शक्ति सञ्चय गर्ने एउटा माध्यम पनि हो भन्नुभयो । उहाँले अगाडि भन्नुभयो, तपाईँहरूको शुभकामनाले हामीलाई उत्साह दिएको छ र हाम्रो बाटो फराकिलो बनाएको छ । यसलाई उपलब्धिमा रुपान्तरण गर्ने हाम्रो प्रयास हुनेछ ।’
नेपाली लेखक संघका सल्लाहकार डा. ज्ञानु पाण्डेले यस्तो किसिमको शुभकामना र बधाईको वातावरणले उर्जा प्रदान गर्ने उल्लेख गर्दै भन्नुभयो, ‘तीर्थ श्रेष्ठको नेतृत्वमा बनेको समितिले योभन्दा अघिको नेपाली लेखक संघले बनाएको पृष्ठभूमिमा भएका त्रुटिहरूलाई निवारण गर्दैै राम्रा पक्षहरूलाई अझ थप गर्दै नयाँ नयाँ कार्यक्रमहरू पनि लिएर आउने छ भन्ने आशाका साथ शुभकामना व्यक्त गर्दछु ।’
कार्यक्रममा उपलब्धि बहुउद्देश्यीय साहित्य विकास समितिका साहित्यकार रोशन थापा ‘नीरव’ले सम्पूर्ण अतिथि गणलाई स्वागत गर्ने क्रममा उपलब्धि सहकारीले प्रजातान्त्रिक मूल्यमान्यतामा रहेर सहकारी कर्म गर्दै आएको र यसले गर्दै आएका साहित्यिक गतिविधि पनि यसै मान्यता अनुरुप रहेको तथ्यको जानकारी गराउनुभयो । प्रत्येक वर्ष मनाउँदै आएका आख्यान दिवस, त्यसै दिवसमा वितरण गरिने आख्यानपुरुष ध्रुवचन्द्र गौतमको बुबाआमाको नाममा स्थापित दीप–गोविन्द पुरस्कार कोषबाट वितरण गरिने विभिन्न पुरस्कारको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा आख्यान पुरुष ध्रुवचन्द्र गौतमको विशिष्ट अतिथिका रूपमा र नहकुल केसीलगायतका व्यक्तित्वको अतिथिका रुपमा उपस्थिति थियो भने कार्यक्रमको कुशल सञ्चालन साहित्यकार घनेन्द्र ओझाले गर्नुभएको थियो ।
…