कवि रीता अधिकारी ऋतुको ‘सेल्फ पोट्रेट’ सार्वजनिक


हरेकपल April 25, 2022

पोखरा । पोखरामा एक समारोहका बीच नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य–सचिव तीर्थ श्रेष्ठले संयुक्त रूपमा कवि रीता अधिकारी ‘ऋतु’को नवीनतम् कविता सङ्ग्रह सेल्फ पोट्रेलको विमोचन गरेका छन् । कवि रीता अधिकारी ’ऋतु’ ले आफ्नो साहित्यिक लेखन यात्राको झण्डै तीन दशकपछि आफ्नो पहिलो कविता सङ्ग्रह ल्याएकी हुन् । फुटकर रूपमा कविता, गीत, गजल, मुक्तक, समालोचना आदि विधामा कलम चलाउँदै आए तापनि कविता उनको मूल विधा हो।

विमोचित कृतिमाथि बोल्ने क्रममा प्रमुख अतिथि सरुभक्तले ५० कै दशकदेखि कविका रूपमा रीतालाई सुनेको स्मरण गर्दै उनी समकालीन पोखरेली कवितामा एक उदीयमान र प्रतिभासम्पन्न कवि भएको धारण व्यक्त गरे । उनले अगाडि भने, ‘कोमल शब्दावली र हृदयस्पर्शी विम्बमा सहज गाम्भीर्यसहित अभिव्यक्त हुनसक्ने ऋतुको गहन काव्यचेत प्रंशसनीय छ । उनका कविता पढ्दा नेपाली काव्यफाँटमा उनको भरोसालाग्दो उपस्थितिको पूर्ण विश्वास गर्न सकिन्छ ।’

विशेष अतिथि तीर्थ श्रेष्ठले कविता लेखनमा कथ्य र तथ्यको मिश्रणमा ध्यान दिएर लेखिनु पर्ने तथ्यप्रति ऋुतु सचेत रहेको धारणा व्यक्त गरे । उनले भने, ‘सरल र सहज भाषाशैलीमा गहन काव्यचेत पस्किनु आफैँमा एक चुनौती हो र उक्त चुनौतीलाई कृतिमा कवि ऋतुले सजगताका साथ निर्वाह गरेको मैले पाएँ। कविता लेख्नु सहज प्रतीत हुने असहज यात्रा हो । यो यात्रामा ऋतु सफल छिन् । उनका कवितामा नचाहिँदो शब्द आडम्बर, अप्रितम विम्ब छैनन् । उनका कतिपय कविताले पाठकको हृदय र मस्तिष्क एकसाथ स्पर्श गर्न सक्छन् । साना मसिना कथ्यलाई पनि टपक्क टिपेर कविताको बान्कीमा सुन्दरतापूर्वक पस्कन सक्ने कविका रूपमा कवि ऋतुलाई लिन सकिन्छ । नेपाली काव्य फाँटले ऋतुबाट यौटा सुन्दर काव्यकृति प्राप्त गरेकोमा मलाई खुसी लागेको छ र आउँदा दिनमा पनि उनको अझ बढी सशक्त र जिम्मेवारीपूर्वक लेखकीय निरन्तरताको अपेक्षा राख्दछु ।’

उक्त अवसरमा प्राज्ञ तथा लोक गायिका हरिदेवी कोइरालाले भुइँमान्छेहरूका आवाज सँगालेर लेख्ने ऋतु जीवन र जगतलाई टपक्कै टिपेर सुन्दर कविता रचना गर्ने कवि भएको बताइन् । त्यस्तै प्राज्ञ तथा कलाकार रमेश श्रेष्ठले आफूले आफ्ना बारेमा लेख्नु या आफ्नै चित्र कोर्नु जस्तो जोखिम र आनन्द अरू नभएको बताउँदै त्यस्तै जोखिमको बाटो सफलता र सजगताका साथ तय गरेकोमा कवि ऋतुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा साहित्यकार जीवनसागर भण्डारीले कवि ऋतुका विद्यार्थी जीवन, वैवाहिक सम्बन्ध, शैक्षिक, सामाजिक व्यक्तित्व र साहित्यिक संलग्नता आदि विविध आयाममाथि प्रकाश पार्दै भने, ‘स्याङजामा जन्मेर, लमजुङ बिहे गरेर अहिले परिवारसहित पोखरा बस्दै आएकी ऋतुका छोराछोरी र अधिकांश आफन्तजन विदेश छन् । श्रीमान् डा. ईश्वरमणि अधिकारी आफैँमा एक प्रसिद्ध साहित्यकार हुन् । यो साहित्यिक जोडी आफैँँमा एक सुन्दर कविता जस्तै छ ।’

कवि तथा साहित्यकार सरस्वती प्रतीक्षाले पोखराले गर्व गर्न लायक कविता कृति नेपाली काव्यफाँटमा सुम्पन लागेको बताइन् । उनले अगाडि भनिन्, ‘म सेल्फ पोट्रेटको समीक्षाभन्दा पनि सेल्फ पोट्रेटको सेलिब्रेसनमा उपस्थित भएकी हुँ । यसका अधिकांश कविता नारीमाथिका विभेद, लैङ्गिक असमानता र विभेदका पर्खालहरूका विरुद्ध दरो गरी उभिएकोमा खुसी लागेको छ ।’

सरस्वती प्रतीक्षाले सेल्फ पोट्रेटबाट ‘भाले शङ्ख’ कविताका केही हरफ उधृत गर्दै बोलिन्,

सत्तामा जो पुगे पनि
किन बजिरहन्छ
खालि भाले शंख

उखुबारीहरूमा
निर्मलाहरू चिच्याइरहँदा
शीतलनिवास किन ब्युँझदैन ?

के सत्ता
पुलिङ्गी हो ?’

उनले भनिन्, ‘यस कवितामा रहेको शक्ति र सौन्दर्यले कविलाई एक साथ विद्रोह र प्रेम व्यक्त गर्न सक्षम बनाएको छ।’

शुभेक्षा राख्ने क्रममा कविका समकालीन साहित्यकार दीपक समीपले कवि ऋतु शब्द फारू गरेर कविताको बनोट र बुनोट दुवैलाई उत्तिकै महत्त्व दिएर सुन्दर र शक्तिशाली कविता लेख्ने कवि भएको धारणा व्यक्त गरे । उनले अगाडि भने, ‘पोखराबाटै यस्तो कृति लोकार्पण समारोहमा साक्षी बस्न पाएकोमा म अत्यन्तै खुसी छु।’

कार्यक्रममा विमोचित कृतिबाट १/१ वटा कविता साहित्यकारहरू सञ्जीव पौडेल र सरस्वती श्रेष्ठ ‘सरू’ले वाचन गरेका थिए भने संस्थाका उपाध्यक्ष उपेन्द्र पौडेल र सहसचिव शिव त्रिपाठीले तथा स्रष्टा रीता अधिकारी ‘ऋतु’ले समेत मन्तव्य प्रकट गरेका थिए ।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा सम्पन्न उक्त लोकार्पण समारोहले लोकार्पित गरेको सेल्फ पोट्रेटमा लामाछोटा गरी जम्मा ४१ वटा कविता रहेका छन् । प्राज्ञ रमेश श्रेष्ठको सुन्दर आवरणमा हार्ड कवरमा छापिएको उक्त कृतिको प्रकाशन व्यवस्था कङ्गारु एजुकेशन फाउन्डेशन, पोखराको रहेको छ ।
…..