वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा उल्लेख्य वृद्धि


हरेकपल May 11, 2022

काठमाडौं,। कोरोना महामारीको जोखिम घटेसँगै वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण लिने नेपालीको संख्या २ लाख ५६ हजार ३१ पुगेको छ ।

२०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उनीहरुले अन्तिम श्रम स्वीकृति लिएका हुन् ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या ७४.९ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या चैत महिनासम्म १९९.९ प्रतिशतले वृद्धि भई २ लाख ६ हजार ६२९ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो ।