यात्रा सुरु गरौँ


हरेकपल May 14, 2022

समयको एउटा लामो झरीपछि
बल्ल घाम उदाएको छ
बिहान भएको छ, अब हामीले हाम्रो यात्रा सुरु गर्नुपर्छ
पानी थामिएको छ, अब हामीले हाम्रो आरोहणको थालनी गर्नुपर्छ
आस्थाको टुकी बाल्नुपर्छ, अब हामीले उज्यलो छर्नुपर्छ
मौसम बसन्तको छ, अब हामीले गीत गुन्जाउनुपर्छ
फक्रेका छान् गुराँसहरू, अब हामीले मालाहरू उन्नुपर्छ।

नाच्दानाच्दै जहाँ रोकेका थियौं सोरठीको ताल
त्यहीँबाट चाल्दै एउटै चालका तीनकोटी पाइला
सह–अस्तित्वको यात्रा सुरु गरौँ ।
रम्दारम्दै रोदीको रन्कोमा छुटेका थियौँ जहाँ
त्यही चौतारीबाट सहमतिको यात्रा सुरु गरौँ ।
पहेँलपुर धान खलियानमा राखेर
माघीको न्वागी खाँदै स्वावलम्बनको नयाँ यात्रा सुरु गरौं ।
घुम्दै विवाह पञ्चमीको मेला पर्खिँदै थियौँ जहाँ
मधेसको पवित्र छठ र त्यहीँ जानकी माटाको चन्दन लगाउँदै
सहिष्णुताको यात्रा सुरु गरौँ
गाउँदा गाउँदै जहाँ रोकेका थियौँ सेलोको भाका
त्यहीँबाट गाउँदै बन्धुत्वको गीत
उज्यालोको यात्रा सुरु गरौँ
मनाउँदै ल्होसार जहाँ पुज्दै थियौँ हिमाललाई मानेर देवता
त्यही आकाश छुने हिमाललाई साक्षी राखेर
सहकार्यको यात्रा सुरु गरौँ
जप्दै गौरा जहाँ नाचेका थियौँ देउडा
त्यही कर्णालीको मुहाननिर उभिएर
नव निर्माणको यात्रा सुरु गरौँ
खोज्दै शान्तिका दुई सम्बोधी आँखा
जहाँ हामी लोलाएका थियौँ
उडाउँदै शान्तिका सेता परेवाहरू
तिनै सम्यक आँखाबाट शान्तिको यात्रा सुरु गरौँ ।

भाक्दै आस्थाको आरती
जहाँ हामी अनायास ब्युँझिएका थियौँ,
त्यही गुम्बा, मन्दिर, मस्जिद र गिर्जाघरको प्राङ्गणबाट
सहधर्मको यात्रा सुरु गरौँ ।
जहाँ तिमी र हामीले हातेमालो गरेर
आरम्भ गरेका थियौँ एकीकरणको यात्रा
काष्ठमण्डपको त्यही देवलबाट धिमे बजाउँदै
नव एकताको यात्रा सुरु गरौँ ।
साँझ परेर बास बसेका थियौँ जहाँ नाम्चेको फेदीमा
त्यही फेदीबाट सगरमाथा शिखरको यात्रा सुरु गरौं ।

समयको एउटा निस्पट्ट अन्धकार
हामीले चिरिसकेका छौँ,
अब एउटा नयाँ जीवन सुरु गरौँ ।
जहाँबाट हामी थकान रोपेर भागेका थियौँ,
अब एउटा नयाँ यात्रा सुरु गरौँ त्यहीँबाट ।
जहाँ हामीले केही क्षण विश्राम गरेका थियौँ
राष्ट्र नव निर्माणको यात्रा सुरु गरौँ त्यहीँबाट
जहाँ हामीले शान्ति र समृद्धिका सपनाहरू सजाएका थियौँ ।