एमालेले ९ महिनापछि संसदको अवरोध हटायो


हरेकपल May 17, 2022

काठमाडौँ – नेकपा एमालेले भदौदेखी जारी प्रतिनिधिसभाको बैठकको अवरोध हटाएको छ । एमालेले नौ महिनादेखि संसदको अवरोध हटाएको हो । एमाले सांसद प्रदीप कुमार ज्ञवालीले भदौ २३ गतेदेखि जारी संसदको अवरोध हटाएर नयाँ ढंगले विरोधका कार्यक्रम अघि बढाउने बताएका हुन् ।

‘हामीले आन्दोलनका स्वरूपलाई फरक ढंगले अघि बढाउन चाहेका छौँ’, उनले भने, ‘देशको अर्थतन्त्र संकटमा परेको छ । तर, सरकार गैरजिम्मेवार देखिएको छ । यस्तो अवस्थामा संसदमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने भएकाले यो कदम चालेका हौँ ।’

ज्ञवालीले देश संकटमा पर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । उनले आर्थिक अवस्थासहितका कारण देश संकटमा पर्दा पनि प्रधानमन्त्री र विभागीय मन्त्री गम्भीर बन्न नसकेको आरोप लगाए ।

‘सत्ताको सेटिङ तुहिएको छ भने प्रधानमन्त्रीज्यू ब्युँझिनुहोस्, मन्त्रीज्यू ब्यूँझिनुहोस्, देश संकटमा छ’, उनले भने, ‘देश संकट पर्दा पनि सरकार गम्भीर बन्न सकेन । हामी यसको खबरदारी गर्छौैं ।’