हेटौंडाको पहिलो महिला मेयर बनेर लामाले इतिहास रचिन्


हरेकपल May 21, 2022

हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा विजयी भएकी छिन् । बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका र प्रदेशको राजधानी रहेको हेटौंडामा लामा पहिलो महिला मेयर बनेकी हुन् ।

कुल ७३ हजार ४१४ भोट खसेको हेटौंडामा लामाले २३ हजार ७५ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २० हजार ९०८ मत सहित दोस्रो स्थानमा रहे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंहले २० हजार ५३१ मत प्राप्त गरे ।

नेकपा एमालेले निरन्तर जित हासिल गरेको हेटौंडामा मेयर जित्नका लागि लामालाई त्यति सहज देखिँदैनथ्यो । एमालेको लालकिल्ला रहेको हेटौंडामा पाँच दलीय सत्ता गठबन्धनबाट लामाले उम्मेदवारी दिएकी थिइन् । लामा ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उपमेयरमा विजयी भएकी थिइन् ।

नेकपा एमालेको विभाजनपछि लामा नेकपा एसबाट सक्रिय राजनीतिमा लागेकी थिइन् । एक कार्यकाल उपमेयर भएर काम गरेकी लामा जिल्लाको पहिलो मेयर भएर इतिहास रचेकी हुन् ।

त्यसैगरी, गठबन्धनकै तर्फबाट उपमेयरका उम्मेदवार बनेका नेपाली कांग्रेसका राजेश बानियाँले ठूलो मतान्तरले विजय हासिल गरेका छन् । बानियाँले ३२ हजार ५९३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गरेकी छिन् ।

राप्रपाकी उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटीले ५ हजार ४८३ मत सहित तेस्रो स्थानमा रहिन् । लामा आफ्नो पार्टीभित्रकै चरम असन्तुष्टिबीच चुनावी मैदानमा होमिएकी थिइन् ।

नाम सिफारिस भए पनि टिकट नपाएपछि तत्कालीन नेकपा एसका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका थिए । कांग्रेसका रुष्ट नेता तथा कार्यकतालाई बिस्तारै फकाउँदै लामाले आफ्नो पक्षमा मतदान गर्ने वातावरण सिर्जना गरिन् । विशेष गरी तामाङ बाहुल्य बसोबास रहेको हेटौंडा १२, १३ बाट ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने वातावरण उनले आफ्नो अगुवाइमा तयार पारिन् ।

एमालेको गढ मानिएको हेटौंडा ७, ८, ९ बाट पनि लामाले राम्रै मत प्राप्त गरिन् । करिब ४ हजार मत गणना बाँकी रहँदै एमालेका उम्मेदवार अनन्त पौडेल र सुमित्रा काफ्लेले मतगणना स्थलमै गएर लामा र बानियाँलाई बधाई दिएका थिए । लामाले ०४६ सालमा विद्यार्थी जीवनबाट नै राजनीतिमा यात्रा सुरु गरेकी थिइन् ।

०५२ मा अनेरास्ववियु मकवानपुरको जिल्ला कोषाध्यक्ष भई काम गरेर राजनीतिसँगै अध्ययनलाई अगाडि बढाउँदै गर्दा ०५४ सालमामा हेटौंडा १ का सुनकुमार लामासँग उनको विवाह भयो ।

लामा ०७१ सालमा अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिव र ०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको केन्द्रीय सदस्य बनेकी थिइन् ।