कप्तान लामिछाने बिग बासको ड्राफ्टमा


हरेकपल August 4, 2022


नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अस्ट्रेलियाको प्रतिष्ठित घरेलु क्रिकेट प्रतियोगिता बिग बासको आगामी संस्करणको लागि हुने ड्राफ्टमा अटाएका छन्। बिबिएल २०२२/२३ को संस्करणको लागि ड्राफ्टमा पर्ने लामिछाने नेपालका एक्ला खेलाडी हुन्।

बिग बासले सार्वजनिक गरेको नयाँ ड्राफ्टमा अन्य एसोसियट देशबाट नामिबियाबाट डेविड विजा, स्कटल्यान्डका माइकल जोन्स, मार्क वाट्ट, युएईबाट वृत्य अरविन्द, अमेरिकाबाट अली खान, उन्मुक्त चन्द र हम्रित सिंह बधान लगायत रहँदा सर्वाधिक धेरै नेदरल्यान्डबाट रहेका छन्। नेदरल्यान्ड्सबाट ब्रेन्डन ग्लोभर, फर्द क्लासेन, रोलेफ भान मर्वे र पउल मान मिर्कीनले ड्राफ्टमा नाम अटाउन सफल भएका छन्।

बिग बासको इतिहासमा पहिलो पटक हुन लागेको ड्राफ्टबाट अन्तिम छनोट आगमी अगष्ट २८ अर्थात १४ भदौमा हुने छ। ड्राफ्टमा १३ देशबाट कुल १ सय ६९ खेलाडीले नाम दर्ता गराएका छन्।

सन्दीपले यस अघिका चार संस्करणको बीबीएल खेलिसकेका छन्।आफ्नो पहिलो दुई संस्करण सन्दीपले मेलवर्न स्टारमा बिताएका थिए। भने त्यसपछिका दुई संस्करणमा होर्बाट हरिकेन्समा रहेर प्रतिस्पर्धा गरेका छन्।

सन्दीपले बिग बासमा अहिले सम्म ४३ खेलमा १५९.५ ओभर बलिङ गर्दै ७.४२ को इकोनमीमा रन खर्चिदै कुल ४८ विकेट लिएका छन्। सन्दीपका लागि रिटेनको मौका समेत रहेको छ।