सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन,को-को परे ?


हरेकपल August 5, 2022


सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सहमती गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा चुनावी तालमेलको सहमति जुटेको बैठकमा सहभागी नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकले चुनावी तालमेल गर्न सहमती भएको र सिट बाँडफाँडका लागि कार्यदल बनाएको छ । उक्त कार्यदल ११ सदस्यीय रहेको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् ।
यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिमसातासम्म सिफारिस गर्न भनिएको छ । प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् ।

यसअघि सत्ता गठबन्धनले स्थानीय तहमा चुनावमा पनि तीन तहको कार्यदल गठन गरी तालमेल टुंग्याएको थियो।