जीवित सालिकहरू



प्रस्तर निर्मित सालिकहरू
धातु निर्मित सालिकहरू
कहलिएका ’भगवान’का सालिकहरू
बनाइएका ’नायक’का सालिकहरू
कुनै चोकमा उभिएका हुन्छन्,
कुनै विशेष खास स्थलमा ठडिएका हुन्छन्,
मूर्त अमूर्त -निर्जीव सालिकहरू
अद्भूतकलाकारितामा
जीवन्त देखिन्छन् ।

सालिकहरू
चोक चोकमा उभिने मात्रै छैनन्,
विशेष खास स्थलमा ठडिने मात्रै छैनन,
हरदिन दौडधूप गर्नेहरू पनि छन्,
रात विरात चलमलाउनेहरू पनि छन्,
जो माथिको इसारामा दौडन्छन्,
जो अमूक सङ्केतमा चलमलाउँछन्,
सालिकहरू –
मूर्तिवत् स्थिरमात्रै हुँदैनन्,
गतिशील र चलायमान पनि हुन्छन् ।

चलायमान सालिकहरू
भुइँमान्छेका भोकहरू देख्दैनन्,
आर्तहरूका पीडाबोध गर्दैनन्,
नागरिकका शोकहरू महसुुस गर्दैनन् ।

यिनीहरूसँग
न कसैका हर्षमा उमङ्ग छ,
न कसैका विस्मातमा दुःख छ,
न भूगोल भविष्यका प्रति चिन्ता छ,
न आगत सिद्धान्तका प्रति चिन्तन छ,
चिन्ता छ त केबल –
आफ्नै बस्ने ठाउँ र भूगोलका प्रति छ,
चिन्तन छ त फगत–
आफ्नाहरूकै सुदूर भविष्यका प्रति छ ।

यिनै
निर्जीवतुल्य सालिकहरू,
चलायमान सालिकहरू,
भोलि कुनै कलाकारको –
सुन्दर परिकल्पनामा
जीवन्त सालिक बन्नेछन्,
अनि
कुनै चोकमा उभिने छन्,
कुनै खास विशेष स्थलमा ठडिनेछन्-
निर्जीव सालिक बनेर ।।