भेडापालनतर्फ किसानको आकर्षण


हरेकपल August 5, 2022


व्यावसायिक भेडापालनमा भोजपुरका किसानको आकर्षण बढेको छ । भेडापालनबाट राम्रो आम्दानी हुने भएकाले किसान यसतर्फ आकर्षित बनेका हुन् ।

प्रशस्त चरण क्षेत्र भएको कारण यहाँका मैयुङ डाँडा, टेम्के डाँडा, चखेवालगायत क्षेत्रलाई भेडापालनको लागि उपयुक्त स्थान मानिन्छ । भेडापालक कृषकले भेडा, ऊन, घ्यू, महीलगायत बिक्रीबाट आम्दानी लिन गरेका छन् । त्यस्तै उनीहरुले ऊनबाट बन्ने राडी, लुकुनीलगायत पनि बिक्री गर्दै आएका छन् ।

सयसम्म भेडा भएमा वार्षिक रु चार लाखसम्म आम्दानी हुने १२ वर्षदेखि भेडापालन गर्दै आउनुभएका टेम्केमैयुङ गाउँपालिका–२ बोबोकका कृषक गोविन्द कठेतले जानकारी दिए । यहाँ एक जना कृषकसँग एक सउ ५० वटासम्म भेडा रहेको उहाँले जानकारी दिनुभयो । धेरै भेडा हुनेले वर्षमा रु आठदेखि नौ लाखसम्म आम्दानी लिने उनको भनाइ छ ।

गोठवाला कृषकको हकअधिकार तथा आवश्यक सहयोग जुटाउनको लागि समितिसमेत गठन गरिएको छ । यो समितिले गोठलावा कृषकको समस्याको विषयमा ध्यानाकर्षण गराउन विभिन्न खाले गतिविधि गरिरहेको खर्क गोठ संरक्षण समितिका अध्यक्ष पावीहाङ राईले जानकारी दिए।