आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै


हरेकपल August 19, 2022

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण पक्षको अष्टमी तिथिमा भएकाले यो दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका कृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेकोे जनविश्वास रहेको छ । आज ललितपुरको पाटनमा रहेको कृष्णमन्दिरमा बिहानैदेखि भीड छ ।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । कृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भाव, करूणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।