कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने


हरेकपल September 3, 2022

काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । हिजो नतिजा सार्वजनिक गर्ने क्रममा राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिएको हो । दुई विषयमा ननग्रेडिङ अर्थात् एनजी आउने परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । यसअनुसार ननग्रेडिङमा परेका एकलाख ८८ हजार ४ सय १० जना विद्यार्थीमध्ये १ लाख ३० हजार ८ सय ७८ जनाले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा दुवै विषयमा कम्तिमा १ दशमलव ६ जीपीए ल्याएमा मात्र उच्च शिक्षा पढ्न पाइने छ । हिजो प्रकाशित नतिजाअनुसार आधाभन्दा बढी परीक्षार्थी ननग्रेडिङमा परेका छन् । लेटर ग्रेडिङ निर्देशिका अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अङ्क र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउनुपर्ने हुन्छ । तोकिएको अङ्कभन्दा कम ल्याएकाहरूको प्रमाणपत्रमा एनजी अर्थात् नन ग्रेडेड भनेर लेखिने छ ।