फूलहरू केही त बोल



फूलहरू !
बगैँचामा फुलेर मात्र पुग्दैन
सुगन्ध छरेर मात्र पुग्दैन
मौनताले अभिषेक गरेर
एकान्तमा
साथ दिएर मात्र पुग्दैन
अब चुपचाप बसेर पुग्दैन ।

फूलहरू केही त बोल ।

तिम्रो सौन्दर्यले मलाई
नराम्ररी लट्ठ्याएको छ
तिम्रो सुन्दरताले मलाई
घरी–घरी पछ्याएको छ
तिम्रा अव्यक्त गीतका पङ्क्तिहरू
मैले बुझिसकेँ र पनि
मलाई त्यतिले पुगेन
मलाई तिम्रो भाषा चाहिन्छ
मलाई तिम्रा शब्दहरू चाहिन्छ ।

फूलहरू केही त बोल ।

युग–युगदेखि
चुपचाप–चुपचाप
उमेरहरू बितायौ
कोपिलैमा टिपे पनि चुप
फुलेर टिपे पनि चुप
ओइलाएर झर्दा पनि चुप
बगैँचाबाट बैठकमा सजिँदा पनि चुप
यतिन्जेल जति चुप भयौ तिमी
अब त केही बोल ।

फूलहरू केही त बोल ।