लक्की सांगितिक साँझमा गायक कार्की र वन्दनालाई सम्मान गरिँदै


हरेकपल September 4, 2022

चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले १५ असोजमा भरतपुरमा सांगितिक साँझ आयोजना गर्ने भएको छ । सांगितिक साँझमा वरिष्ठ गायक आनन्द कार्की तथा गायिका देविका वन्दनालाई सम्मान गर्ने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले बताए ।

नेपाली सांगितिक क्षेत्रमा योगदान दिए बापत उनीहरूलाई सम्मान गर्न लागेको महाप्रबन्धक कार्कीले बताए । कार्कीका अनुसार सांगितिक सांँझमा चर्चित कलाकार तथा गायक, गायिकाको उपस्थिति रहने छ ।

गायक कार्कीले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी ६ हजारभन्दा बढी गीत गाइसकेका छन् । नेपाली गीतमा मात्र होइन, हिन्दी गीतमा पनि उनको उत्तिकै प्रभाव छ । यस्तै, गायिका देविका वन्दनाले नेपाली गीतसँगै नेवारी, हिन्दी, मराठी लगायत भाषाका हजारभन्दा बढी गीतमा सुमधुर स्वर दिएकी छिन् ।