उपेन्द्र सुब्बाका दुई कविता



देउरालीमा सिन्दुरले रातै पोतिएर
फूलपातीले छयाप्पै छोपिएर
एउटा ढुङ्गा देउता भएर बसेको छ
देउता ढुङ्गा हुन सक्छ ढुङ्गा देउता पनि हुन सक्छ
– मात्र विश्वासमा ।

त्यही विश्वासमा –
निर्बलहरू बल माग्दै ढुङ्गा सामु माथा टेक्छन्
गरिबहरू धन माग्दै ऋण गरी बोका काटछन्
दुःखीहरू सुख माग्दै रोई–कराई भाकल गर्छन् ।
विश्वास यति घाती छ,कि
नाथे एउटा ढुङ्गाले पनि यसरि मान्छेको शोषण गर्छ ।

बाउले नपढेर दुःख पाए
मैले पढेर दुःख पाएँ।

गाउँमा–
बाउ हलो जोतिरा’छन्
म सहरमा टाउको जोतिरा’छु।

गरेर खानलाई
बाउसँग संसार छ
भोकभोकै मर्न तयार
मसँग अहङ्कार छ।

बाउले नपढेर दुःख पाए
मैले पढेर दुःख पाएँ।