सिट बाँडफाँडका लागि सत्ता गठबन्धनको बैठक बस्दै


हरेकपल September 24, 2022

काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँड समितिको बैठक आज पनि बस्दैछ । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सिट बाँडफाँडको विषयमा सहमति जुटाउन बैठक बस्न लागेको हो ।

बैठक आज बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । यसअघि हिजो दिनभर भएको छलफलमा भने सहमति हुन सकेको थिएन । दलहरूको आआफ्नै अडानका कारण गठबन्धनमा सिट बाँडफाँडको विषयमा सहमति जुट्न समस्या भइरहेको छ ।

सहमति खोज्ने प्रयासलाई जारी राख्ने भन्दै नेताहरूले आज फेरि बैठक बोलाएका हुन् । गठबन्धनका नेताहरूले प्रतिनिधि सभाअन्तर्गत देशभरका १ सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये ८० प्रतिशत सिटमा कुरा मिलिसकेको दाबी गरेका छन् । प्रदेश सभाका ३ सय ३० सिटमध्ये पनि ८० प्रतिशतकै हाराहारीका सिटमा सहमति जुटिसकेको दाबी पनि गरिएको छ । तर, मधेसका केही प्रमुख निर्वाचन क्षेत्र र पहाडी क्षेत्रका पनि केही जिल्लामा कुरा मिल्न सकेको छैन । यस्तै, पहाडी क्षेत्रका केही सिटमा पनि दलहरूबीच सहमति हुन सकेको छैन ।