घर छोडी परदेश लाग्दा



घर छोडी परदेश लाग्दा घरकै माया लाग्दो रैछ
कहिले घर फर्कूँ भन्ने रहर मनमा जाग्दो रैछ
चाहना र इच्छाहरू जिन्दगीमा धेरै थिए
जन्मघर झुप्रो नै होस् त्यही घर प्यारो लाग्दो रैछ
आमा-बाबु दु:खी नै हुन् तिनकै माया लाग्दो रैछ

दसैँ आयो आशिष दिने वृद्ध अनुहार आउँदो रैछ
तिहार आयो बहिनीको माया सयपत्रीमा फुल्दो रैछ
देउसी खेल्ने दौतरी दाजुभाइ धेरै थिए
ती सबै सम्झी ल्याउँदा मन वैरागी हुँदो रैछ
सम्झना त आँखाबाट आँसु बनी बग्दो रैछ

खानु लाउनु भन्ने कुरा परिश्रमको फल रैछ
अभाव र गरिबी त जहाँ पनि हुँदो रैछ
जीवन के हो, बुझाउने हाय !
आफ्नाहरू धेरै थिए
सम्झी ल्याउँदा सुख-दु:ख मनैको सन्तोष रैछ
मायालुको सम्झनाले एक्लै बस्दा रुवाउँदो रैछ l