खोइ तिम्रो दसैँ ?


राबत October 1, 2022

मालिकको आँगनमा
शरदको बिहानीले ओछ्याइसक्यो- मखमली कार्पेट
घाम दौडेर कोठा-चोटामा
फिटिसक्यो तास
हानिसक्यो कौडा ।

आम्मा हो…
रात पनि कति उज्यालो मालिकको घरमा !
दसैँ त यस्तो पो हो, साइँला दाइ !
खोइ तिम्रो दसैँ ?

यस्तो बेलामा पनि
कति फुर्सद तिमीलाई- गिट्टी कुटिरहन
कति फुर्सद तिमीलाई- बालुवा चालिरहन
कति फुर्सद तिमीलाई- भारी बोकिरहन

गैँती र बेल्चा बजाइरहने तिमीलाई
निको लाग्दैन कि क्या हो मङ्गलधुन ?
एकचोटि
टोपीले पसिना पुछी हेर त,
तिम्रा नानीहरूको औँलामा अड्केको
चङ्गाको धागो हो कि, कट्टुको इँजार ?

यस्तो त हैन नि दसैँ, साइँला दाइ !

खोइ-
दसैँलाई भनी साँचेको रातो भाले ?
जसका खातिर तिमी
ब्वाँसाहरूसँग जोरी खेल्थ्यौ,
खोइ-
दसैँलाई भनी साँचेको कालो बोको ?
जसका खातिर तिमी
बाघसँग भिड्न तम्सिन्थ्यौ
आज एकाएक
तिम्रो मन र खोर रित्तो पारेर
कसले लग्यो तिम्रो दसैँ ?
कसले सुन्दै छ मङ्गलधुन ?

बाघमाथि सवार देवीलाई सोध, साइँला दाइ !

भाउजूको
बुच्चो नाक र कानको लागि सोध
नानीहरूको
भोको पेट र आङको लागि सोध ।
तिमीले पनि चढाउँथ्यौ नि
देवीको पाउमा फूलभेटी,
तर
खोइ तिम्रो दसैँ ?
तिम्रो निधार
पसिनाको मुहान मात्र हो र ?
जो सधैँ पखालोस् मालिकहरूको बिहान
जो सधैँ पखालोस् मालिक गुड्ने सडक
जो सधैँ पखालोस् मालिकहरूको भित्ता
र, चम्काओस् सधैँ
मालिकहरूकै दसैँ ।

जाँड खाएर भन्यो नभन साइँला दाइ !

कस्सम…!
तिम्रो निधारमा देखिरहेछु
चमचम चम्किरहेको- तेस्रो आँखा ।

हो, त्यही उज्यालोमा उभिएर-
बाघमाथि चढ्नेलाई सोध
सडकमाथि गुड्नेलाई सोध
कुर्चीमाथि बस्नेलाई सोध-

‘खोइ मेरो दसैँ ?’