नेकाको चुनावी घोषणापत्रमा स्रष्टाका हकहितका बुँदा समेटिने


हरेकपल October 1, 2022

काठमाडौँ । नेपाली कांग्रेस पार्टीले आम निर्वाचनका लागि तयार गर्ने घोषणापत्रमा स्रष्टाका हक–हितका लागि के कस्ता बुँदालाई समेट्ने भन्ने विषयमा राजधानीमा लोकतान्त्रिक स्रष्टाहरूको भेला सम्पन्न भयो ।

भेलामा घाेषणापत्र निर्माण समिति सदस्य पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरेले यस्तो भेला पटकपटक गर्ने र निष्कर्षमा पुग्ने बताउनुभयो । अर्का सदस्य चर्चित कवि तथा प्राज्ञ श्रवण मुकारुङले यो घोषणापत्र निर्माण गर्ने कार्य मात्र नभएर देश निर्माणको एउटा पाटो भएकोले भेला भएको बताउनुभयो । अर्का सदस्य मीन भामले स्रष्टाको गरिमालाई ध्यानमा राखेर आफूहरूले काम गरिरहेको बताउनुभयो । प्रा.डा. व्रतराज आचार्यले कम्युनिष्ट साहित्यकार र लोकतान्त्रिक स्रष्टाबीचको अन्तरलाई स्पष्ट पार्दै घोषणापत्रमा कसैलाई पनि निषेध नगर्ने, सबैलाई लाभ पु¥याउने बुँदा समेटिनुपर्ने कुरामा जोड दिनुभयो ।

भाषा, साहित्य, चलचित्र, सङ्गीत, ललितकला क्षेत्रका स्रष्टा, विश्वविद्यालयका प्राध्यापकका साथै नेपाली लेखक संघका सदस्यहरूको सहभागिता रहेको उक्त भेलामा डा. ज्ञानु पाण्डे, कवि महेश प्रसाईँ, प्राज्ञ धनबहादुर याख्खा, डा. भक्त राई, डा. नारायण, चालिसे, डा. रत्नमणि नेपाल, के.बी सिम्पल, मनोज न्यौपाने, सोझो गाउँले, डा. शशी थापा पंडित, नारायण सापकोटा, निर्मला कोइराला, सुदेश सत्याललगायतका दर्जनौँ स्रष्टाले सुझाव दिनुभएको थियो ।

भेला नेपाली लेखक संघको आयोजनामा सम्पन्न भएको थियो ।