प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता गर्न अब ३ दिनमात्र बाँकी


हरेकपल October 6, 2022

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न ३ दिन मात्र समय बाँकी छ । मनोनयनको दिन नजिएकसँगै राजनीति दल उम्मेदवार चयनमा व्यस्त छन् । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम छ ।

असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने तथा असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका छ । यस्तै, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ यही असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम छ ।

यस्तै असोज २२ गते उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने, असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिने कार्यक्रम छ । यस्तै, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने तथा कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने कार्यक्रम छ ।