साहित्यकारहरूमा पश्चिमाहरूको प्रभावको असर


जीवनपानी October 11, 2022

अचेल हाम्रा लेखकहरूमा पश्चिमा साहित्यको प्रभाव छताछुल्ल पाइन्छ । उतैको आचारविचार, सभ्यता र संस्कृतिमा उनीहरू लट्ठ देखिन्छन् । पश्चिमी पारामा बोल्दा, उठबस गर्दा र सोचविचार गर्दा उनीहरू अनौठोसँग दङ्ग पर्छन् । आफूलाई सभ्य र सुसंस्कृत भएको भ्रममा मख्ख पर्दछन्। पश्चिमी शैलीको लेखनलाई आफ्नो प्रतिभाको सार्थक रूप सम्झिन्छन्। हिजो वाल्मीकि, व्यास, शङ्कराचार्य, तुलसी आदिले हामीलाई कस्तो साहित्य दिएर गएका थिए ? जुन साहित्य पढेर विदेशी साहित्यकारहरू पनि नतमस्तक हुन्थे । आज हाम्रा साहित्यकारहरूलाई यस वास्तविकताको हेक्का रत्तिभर नभएजस्तो, सम्झिने स्मरणमा स्मृति नै गायब भएजस्तो देखिन्छ । यसको मुख्यकारण अरू केही होइन, पश्चिमा साहित्यको प्रभावको कसिङ्गरले आफ्नो भाषा-संस्कृति र सनातन परम्पराको विषयमा विचार गर्ने दिमाग पुरिनु हो । फलत: उनीहरूलाई आफ्नो लेखका कारण सन्मार्गमा हिंड्ने सीधासाधा नवयुवकहरू पथभ्रष्ट भैरहेकोमा न कुनै चिन्ता छ न त अत्तोपत्तो नै ।

लेख्न त उनीहरूले कथा, कविता ,उपन्यास आदि लेखेका छन्, परन्तु केवल वासना उद्दीप्त गरेर सुसंस्कृत हाम्रो सनातन सामाजिक व्यवस्थालाई विकृत तुल्याउनका लागि । भन्न त उनीहरूले आफूलाई लेखक हुँ भन्छन्, किन्तु आफ्ना लेखका कारण समाज विकृत भैरहेको भने उनीहरूलाई पत्तै छैन । अर्थात् उनीहरूलाई लेखेर समाजलाई सुसंस्कृत बनाउनु नै छैन। साहित्यकार बन्नु सामान्य कुरा हो, तर त्यसको आदर्शको निर्वाह गर्नु महत्त्वपूर्ण कुरा हो। अरूलाई खुसी पार्न, मनोरञ्जन प्रदान गर्न चाहने लेखकमा स्वतन्त्र प्रतिभाको प्रस्फुटन कसरी हुन्छ ? किमार्थ पनि यस्तो संभव हुँदैहुँदैन । यस्ता छिनाल साहित्यले साहित्यकारहरूको प्रतिष्ठालाई सदाका लागि सिकिस्त पारिदिन्छन् । सत्यको आँखा छोपेर समाजको ठूलो अहित गर्दछन् । यसर्थ ‘हरेक समाजको सर्वोच्च गौरव यसका लेखकले उठाउँछन्’, भनेर लियो टाल्सटायले त्यसै भनेका होइनन्। हाम्रै वैदिक संस्कृतिको प्रभावको अनुशासन हो, वासु शशीको यो भनाइ- ‘एउटा बमले लाखौं मानिसलाई मार्छ तर एउटा साहित्यले युयुत्सालाई नै नष्ट गरिदिन्छ ।’

हाम्रा शास्त्रहरूले त कवि वा साहित्यकारलाई परमेश्वर भनेका छन् । ‘कविर्मनीषी परिभूः स्वयम्भूः’, यस उद्गारमा भनिएको कवि शब्द परमेश्वरको सट्टामा प्रयोग भएको छ । हाम्रा जुनसुकै वैदिक शास्त्रले साहित्यलाई परमात्मासम्म पुग्ने सोपान भनेका छन् । साहित्यकारहरूलाई वैदिक दित्सापत्रमा लेखिएको करारलाई पालना वा व्यवस्था गर्दै ऐहिक एवम् आमुष्मिक सुखको विषयमा लेख्ने वा बोल्ने अनि समाजका समस्त विषलाई पिएर आफ्नो रचना अमृतले उक्त समाज र राष्ट्रलगायत सम्पूर्ण विश्वलाई अमरत्व प्रदान गर्ने अधिकार प्राप्त व्यक्ति हो भनेर भनेका छन् । जसमा यो निष्ठा छैन, त्यस्तालाई हाम्रो वैदिक संस्कृतिले साहित्यकार मानेकै छैन ।

तर चिन्ताको विषय यो छ कि, यस्तै निष्ठाहीन व्यक्तिलाई आज राज्यले महान साहित्यकारको सम्मान प्रदान गरेको छ । पाठकहरू यस्तै साहित्यमा बानी परिसकेका छन् । उनीहरूले यस्तै विकृत साहित्यको माग गर्न थालिसकेका छन् । फलतः साहित्यले आज हाम्रो वैदिक अनुशासनमा रहेको समाजलाई पतनको मार्गमा ओरालिसकेको छ, जबकि उनीहरूको कर्तव्य समाजलाई परिष्कृत र सुरुचिसम्पन्न बनाउनुथियो । अनि खप्तड बाबाले भनेझैं समाजमा नयाँ स्फूर्ति, नयाँ चेतना, नयाँ उत्साह र नयाँ आशाको सन्देश दिनुथियोे । पाठकहरूमा सत्य, अहिंसा, तप, त्याग, प्रेम, सेवा तथा बलिदानको भावना जगाउनुथियोे । समाजमा शिवाजी र प्रतापजस्ता देशभक्त, शङ्कराचार्य, बुद्ध र महावीरजस्ता महापुरुष, सीता र अनसूयाजस्ता देवीहरू र ध्रुव, प्रल्हाद र नचिकेताजस्ता दृढव्रती बालकहरू जन्माउनुथियो । खोइ त हाम्रा साहित्यकारहरूले यस्तो गर्न सकेको ? सम, देवकोटा, पौडेल, घिमिरे, भानु र मोतीमाजस्तो खोइ अध्यात्मिक अनुशासन ?

साहित्यकारले पाठकलाई उच्च आदर्श र उज्ज्वल परम्परा प्रदान गर्न सक्नुपर्थ्यो। त्यो गर्न नसक्दा वा नजान्दा वा साहित्यकारमा साहित्यिक निष्ठा नहुँदाको दुरवस्था हो पश्चिमाहरूको आज हाम्रो धर्म-संस्कृतिमाथिको यो खुलेआम आक्रमण। सामाजिक सञ्जालमा हेरौं, भाइभाइमा धर्मको विषयमा भएको घिनलाग्दा शब्दमा गालीगलौज र सराप। आफ्नै पुर्खाले संरक्षण गरेर जोगाएको सनातन वैदिक संस्कृतिको विरुद्धमा आफ्नै छोरा नातिहरूको यो तमासा !

यसको भयावह परिणामको असर भोलिका दिनमा कति भयावह हुने हो ? यसको अङ्कगणितका विषयमा अब हाम्रा साहित्यकारहरू ढिलो नगरी बेलैमा सचेत हुने बेला आएको छ। हाम्रा प्राचीन साहित्यकारको आदर्श व्यक्तित्वलाई अनुकरण गर्न ढिलो भैसकेको छ।

000