खोइ, कहाँ गायब भए हाम्रा वर्णहरू ?!


जीवनपानी November 2, 2022

जिन्दगी विचारको तास हो। भाषाले विचारमा दाउ दिन्छ। दाउले हाम्रो वैदिक धर्म-संस्कृतिलाई जिताउँछ। जुन जितले हाम्रो सनातन अस्तित्वसँग मधुर सम्बन्ध राख्छ। लिपि भाषाको पदार्थीय स्वरूप हो, जोसँग विचार बन्ने शक्ति हुन्छ। व्याकरण भाषाको साबुनपानी हो, जसले भाषाको स्वरूपलाई मैलाउने विकृति र अशुद्धिलाई गिजोलेर बाहिर निकाल्छ अनि पखालेर भाषालाई वैदिक प्रकाशले टलक्क पार्छ।

आउनुस् अब वर्णहरूसँग परिचय गरौं–
वर्णहरू कपासजस्तै हुन्। यिनैबाट भाषाहरू बुनिन्छन्, जसलाई भावले पहिरिन्छ। अतः भाषा भावको पहिरन हो। भाव सुहाउँदो भाषा भयो भने संस्कृति मौलाउँछ। परिणामतः
“सर्वे भवन्तु सुखिन:सर्वे सन्तु निरामया:।
सर्वे भद्राणिपश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ”

अर्थात् , हे ईश्वर ! सबै प्राणीहरू सुखी होउन्, सबै निरोगी होउन्, सबैले सुन्दर कुराहरूमात्रै देख्न पाउन् र कसैले पनि दु:ख-कष्ट भोग्नु नपरोस् !
सबैलाई यस्तो ईश्वरीय आशीर्वाद मिल्छ।

कपडामा धागोको सिलाइबुनाइले महत्त्वपूर्ण भूमिका खेल्छ। सिलाइबुनाइको कमजोरी वा अज्ञानताका कारण कपडाबाट एउटैमात्र धागो फुस्कियो भने त्यहीँबाट कपडा उध्रिँदै जान्छ। यही स्थान हो- भाषामा वर्णको पनि। एउटै मात्र वर्णको तलमाथिले अर्थात् बोल्दा, लेख्दा, पढ्दा र सुन्दाको लापरबाहीले पूरै भाषालाई उधारिदिन्छ। अनि, उध्रेको भाषाले सनातन संस्कृतिलाई नै कुरूप र विकृत पारिदिन्छ।

यसैगरी वर्णलाई मस्तिष्कका कोषहरूसँग पनि तुलना गर्न सकिन्छ-
मस्तिष्कका कोषहरू जीवनपर्यन्त जीवित रहन्छन्। भाषा यस्तै हो जो वर्णहरू बाँचुञ्जेल बाँच्छन्। वर्णको पूर्ण सङ्ख्यामा भाषाको आयु परमायु हुन्छ। र, भाषा सभ्य र सामर्थ्यवान बन्छ। भाषाको आयु अपूर्ण वर्णले घटाउँछ। भाषाको अल्पायुमा सनातन संस्कृतिको मुटु-फोक्सो स्वस्थ रहन सक्दैनन्।

स्वास्थ्य निकायहरूको तथ्याङ्कअनुसार स्वास्थ्य मानिसको शरीरमा एक घन मि.मि. आयतनमा ४.५- 6.० मिलियनको सङ्ख्यामा राता रक्त कोषिका हुनु जरुरी छ। उक्त रक्त कोषिकाको सङ्ख्या योभन्दा तल झर्न थाल्यो भने त्यो व्यक्तिमा फलाम तत्त्वको मात्रा कम हुँदै जान्छ। फलतः शरीरका मुटु, फोक्सो, मृगौला, कलेजोजस्ता महत्त्वपूर्ण अङ्गहरूमा समस्या देखिनथाल्छ। समयमै उपचार भएन भने अन्ततः उक्त व्यक्तिको मृत्यु नै हुन्छ। भाषामा वर्णहरूको भूमिका पनि ठीक यस्तै हो । यदि भाषामा वर्णहरूको सङ्ख्या हुनुपर्नेभन्दा कम भयो भने भाषाले पनि एकदिन मृत्युवरण गर्नुपर्ने दिन आउँछ।

भन्ने नै हो भने भाषा मानव सभ्यताको राजधानी हो। भाषाबिना मानवीय सभ्यतालाई परिभाषित गर्न मुस्किल हुन्छ। वा असंभवजस्तै हुन्छ। अनि, वर्णहरू त्यहाँका सभ्य र शिष्ट नागरिकहरू हुन् । देवनागरी लिपिमा यी नागरिकहरूको पूर्ण सङ्ख्या ५२ थियो। अर्थात् हाम्रो देवनागरी लिपिमा ५२ ओटा वर्ण थिए। तीमध्ये १६ ओटा स्वरवर्ण र ३६ ओटा व्यञ्जन वर्ण थिए । यतिखेर भने ती वर्णहरूको सङ्ख्या घटेर ४८ भएका छन् । यसमा स्वरवर्णभित्रका ४ वर्ण, वर्णमालाबाट गायब पारिएका छन्।

कसले गायब गरायो तिनलाई ? को हुन् ती वर्णघाती, लिपिघाती, व्याकरणघाती, भाषाघाती र संस्कृतिघाती कुलङ्घारहरू ? जो, अधर्मी र विधर्मीहरूको आर्थिक एवं सत्ता र शक्तिको प्रलोभनमा फसेर अनि तिनीहरूको रिश्वत रछ्यानमा बेचिएर आफ्नै जननीको छातीमा लात हानिरहेका छन् ! आफ्नी आमाको ऐया ! ऐया !! ऐया !!! को यस्तो कारुणिक क्रन्दनमा पनि उनीहरू चाडपर्व र विजयोत्सवमा जस्तो मस्तले हाँस्ने, गाउने, नाँच्ने र रमाउने गरिरहेका छन्।

यस्ता कुपुत्र हुँदारहेछन् र पो त शास्त्रले भन्दोरहेछ-
“मूर्खश्चिरायुर्जातोSपि तस्माज्जातमृतो वर:”
अर्थात् मूर्ख सन्तान जन्मेर लामो समयसम्म बाँची चिरायु हुनुभन्दा जन्मनासाथै मरेको असल हुन्छ।
अनि-
“एकोSपि गुणवान् पुत्रो निर्गुणैश्य शतैर्वर:।।
एकश्चन्द्रस्तमो हन्ति न च तारासहस्रश:।।”
अर्थात् बुद्धिहीन शैतान सय सन्तान हुनुभन्दा एउटै सुसंस्कृत गुणवान् सन्तान हुनु श्रेयस्कर हुन्छ, जसरी आकाशका असङ्ख्य ताराभन्दा उज्यालोको लागि एउटै चन्द्रमा काफी हुन्छ। अतः गुणी र विद्वान एउटै पुत्रबाट कुलको उद्धार हुन्छ।
बुद्धिको बिर्को छिट्टै खुलोस् र यी कुपुत्रहरूले शास्त्रको, “कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती” अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइलाई आत्मसात् गरुँन्। अन्यथा माटोले सराप्ने छ। र, माटोको सरापले पुस्तौंपुस्तासम्म उनीहरूले जन्मको अधिकार गुमाउनु नपरोस् ।

दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाको “ब्युनर्सआयर्समा ग्रोभ ” नामक विशाल नाइट क्लबमा संस्कृत भाषाका गीत तथा भजन-कीर्तनहरू गाइन्छन् र बजाइन्छन्। जुन गीतका नशामा दैनिक हजारौं युवायुवतीहरू झुम्मिन्छन्। संस्कृत भाषाकाबाहेक त्यहाँ अन्य कुनै भाषाका गीतहरू बज्दैनन्।

संस्कृत विश्वको एकमात्र सभ्य र अति शिष्ट वैदिक भाषा हो। पवित्रता यसको विशेषता हो। यो कुरा तिनीहरूले बुझेका छन्। अतः त्यस क्लबमा मदिरापान र धुम्रपान गर्न पनि निषेध गरिएको छ। त्यहाँ सफ्ट ड्रिंक्स, जुस तथा शाकाहारी खानाबाहेक माछामासुजस्ता मांसजन्य खाना खान पाइँदैन।

वैदिक सनातन संस्कृति ज्ञानविज्ञान, कर्मविज्ञान, भक्तिविज्ञान, योगविज्ञान आदि अनेकौं विज्ञानहरूको वर्णपट हो। जसको उज्यालोसँग पूरै ब्रह्माण्डलाई अँध्यारोमुक्त बनाउन सक्ने सामर्थ्य छ। हाम्रा वैदिक शास्त्रहरू यही यथार्थका साक्षीहरू हुन् । र त ज्ञान, भक्ति, कर्म र योग प्राप्तिका लागि आज जर्मनीहरूले जर्मनमा दर्जनौं संस्कृत विश्वविद्यालयहरू स्थापना गरेका र गरिरहेका छन्। जर्मनजस्तै विश्वका अधिकांश मुलुकहरू वैदिक सनातनतर्फ आकर्षित वा लालायित भैरहेको मौसममा संस्कृतिको धरोहर र विश्वकै सभ्यभाषा संस्कृतलाई डलरमा बिकेका असभ्य काँचा-कचिला विधर्मीहरूले मृतभाषा भन्दै समाप्त पार्न तम्सिनु भनेको मरुभूमिमा पानीको मूल फुटाउँछु भनेर फुटानी गर्नुजस्तै हो। वैदिक सनातन संस्कृतिलाई बुझ्नेहरूका लागि यो संस्कृतिको विकल्पमा अरू कुनै संस्कृति नै छैनन्।

विधर्मीको आदेश स्वीकार्ने यस्ता विषाक्त र कृतघ्न कुलङ्घार पाडाहरूलाई केको प्रा.डा. ? यिनै अपराधीहरू हुन्, जो आज नेपाली भाषाबाट एकेक वर्णहरू गायब गराउँदै लगेर अन्तमा देवनागरी लिपि नै लोप बनाउने अभियानमा देश-दौडाह गरिरहेका छन्। विद्यालयहरूमा अङ्ग्रेजी भाषालाई मात्रै महत्त्व दिएर नेपाली भाषालाई एक्ल्याइरहेका छन्। फलतः अचेल विद्यार्थीहरूलाई नेपाली भाषामाभन्दा अङ्ग्रेजी भाषामा मोह बढ्दै जान थालेको छ। त्यसमाथि युनिकोडको परिकल्पना र त्यसको प्रयोगले त अझै ध्वस्त नै बनाएको छ नेपाली भाषालाई। यति मात्रै हो र, यी अपराधीहरूले वर्ण/अक्षरमाथि समेत आक्रमणको आरम्भ थालिसकेका छन्। सुक्तिमा उल्लेख गरिएको छ- “सबै अक्षरहरू मन्त्र हुन्” भनेर। अत: “श”लाई “स “बनाउँदा मन्त्रको प्रभावमा कति ठूलो असर पर्ला ? महान् देवनागरी लिपिलाई लथालिङ्ग र भताभुङ्ग पार्न विधर्मीहरूको डलरमा बिकेका यिनीहरू आज अझै व्यस्त छन्।

उपनिषद्ले भन्छ- “संसारको उत्पत्ति अक्षरबाट भएको हो।”
यसर्थ –
अक्षरको विनास भनेको दुनियाँको विनास हो। दुनियाँको विनासपछि नास हुने कुरा नै बाँकी रहँदैनन्। यसैले कोही कुलङ्घार नबन। विधर्मीहरूका घोडा नबन। दास नबन। डलरमा नबिक। डलरमा आमालाई नबेच। त्यसो त अक्षरहरू तिम्रा पेवा हैनन्। तिम्रा सिर्जना हैनन्। साझा सम्पत्ति तिम्रो आना-जग्गा होइन। गायब भएका वर्णहरूलाई फिर्ता लेऊ। ती वर्णहरू यथास्थानमा रहूँन्। आफ्नो मौलिक भाषा र संस्कृतिको संरक्षण र विकासमा जुट।

मबीबी शाहको कवितांश –
“गर्छिन् पुकार आमा रोई, कराई जोडले ।
सक्तिनँ हेर्न भन्छिन् सन्तान थरिथरीका।। “
तिमीहरूले पनि पक्कै पढेका थियौ होला। उ: बेला यसले तिम्रा आँखा पगालेको पनि हुँदो हो। ती नालायक सन्तान को होलान् भन्ने तिमीलाई पनि लागेको हुँदो हो ! नेपाल आमाको मायाले तिनीहरूलाई तिमीले सरापेका पनि थियौ होला। आखिर तिमीले त्यति बेला दिएको सराप तिमी आफैँलाई रहेछ। त्यो कुपुत्र तिमी नै रहेछौ। धिक्कार छ तिमीलाई !
जय सनातन संस्कृति !

===