जिन्दगीको सच्चा परिचय



  • मनोजादित्य न्यौपाने

हिजो
म उकालो चढिरहेको थिएँ
पद थियो, पहुँच थियो, पैसा थियो
मेरो पछिल्तिर कुरा काट्नेहरू पनि
मेरासामुमा बडो राम्रो व्यवाहार गर्थे
यस्तो लाग्थ्यो,
यसरी नै चल्छ मेरो जीवन सधैँभरि ।

आज
म ओरालो लाग्न के सुरु गरेँ
मेरै छायाहरूले पनि मेरो साथ छोड्न थाले
म उभिएको ठाउँको अँधेरो देखेर
त्यही अँधेरोमा समाहित हुन मनपराए ।

हिजो
मेरो प्रशंसा गरेर नथाक्नेहरू
आज
मेरो कुरा काट्ने काममा व्यस्त भएका छन्
हिजो
मलाई साथ दिन्छु भन्नेहरू
आज
मेरा दुस्मनसँग हातेमालो गरेर हिँडेको छन् ।

हिजो
जो मलाई गाली गर्थे
यो भएन भन्थे, त्यो भएन भन्थे
म ठान्थेँ, यिनीहरू मलाई मन पराउँदैनथे
आज
तिनीहरूले नै मलाई साथ दिएका छन्
केही गर्न नसके पनि
‘धैर्य गर, सधैँ एउटै समय चल्दैन’ भन्दैछन् ।

उकालो चढ्दै गरेकाहरू हो !
तिमीहरू जिन्दगीलाई चिन्दछु भन्ठान्छौ भने
भ्रममा छौ ।
जिन्दगी त
ओरालो लागेपछि मात्र चिनिँदो रहेछ ।