पाँचदशकको धैर्यतापछि शिवराजको सांसदको यात्रा




बैतडी प्रदेशसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका पूर्व पार्टीसभापति शिवराज भट्ट विजयी हुनुभएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा निर्वतमान प्रदेशसभा सदस्य लिलाधर भट्टलाई चारसय ३७ मतले पराजित गरेर शिवराज विजयी हुनुभएको हो ।
अन्तिम मतपरिणाम अनुसार कांग्रेसका भट्टले १७ हजार एकसय ५३ मत प्राप्त गर्दा एमालेका भट्टले १६ हजार सातसय १६ मत प्राप्त गर्नुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणदत्त जोशीले एकहजार दुईसय एक, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले दुईसय २० र नागरिक उन्मक्ति पार्टीका रेवती बोहराले एकसय ७० मत प्राप्त गर्नुभयो । कुल ३७ हजार दुईसय ८० मत खसेकोमा एकहजार आठसय २० मत बदर भएका छन् ।


६६ वर्षको उमेरमा प्रदेशसभामा विजयी हुनुभएका भट्ट पाँचदशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ । लामो धैर्यतापछि उहाँ सांसदको यात्रामा जोडिनुभएको छ। बैतडीको पञ्चेश्वरस्थित बिजुलमा पुर्खेली घर भएका भट्ट विस २०१३ सालमा बैतडीको देहिमाडौंमा जन्मिनुभएको थियो । भट्टले २०२८ सालदेखि राजनैतिक यात्रा शुरु गर्नुभएको हो । विद्यालयस्तरसम्म पढाईजीवन बैतडीमै बिताउनुभएका भट्टले शाहिलेकस्थित विरेन्द्र माविबाट एसएलसी पास गर्नुभयो । विद्यालयस्तरको पढाइकै क्रममा २०२८ साल नेविसंघको राजनीतिमा सक्रिय हुनुभएका भट्ट त्यपश्चात कक्षा ११ देखिको पढाई भारतमा शुरु गर्नुभयो ।
सानैदेखि राजनीतिमा चाँसो राख्दै आउनुभएका भट्टले भारतमा अध्ययनका क्रममा पनि पञ्चायतकाविरुद्धको आन्दोलनमा सक्रिय रहनुभयो ।
भारत नैनिताल अध्ययनका क्रममा नेपाल–भारत छात्रसंघ सक्रिय रहँदै पञ्चायतकाविरुद्ध आन्दोलनको अगुवाई गर्नुभएको थियो ।
भारतबाटै अर्थशास्तमा स्नातकोत्तर गर्नुभएका भट्टले वि स २०३७ सालमा नेपाल आएर कानुन विषयबाट स्नातक पास गर्नुभयो । त्यसपश्चात २०३८ सालमा अधिवक्ताको प्रमाणपत्र प्राप्त गर्नुभयो र केहि वर्ष वकालती पेसामा पनि लागे । तर राजनीतिमा कांग्रेसको सक्रिय राजनीतिमा लागेकाले त्यो पेसा केहि वर्ष मात्रै रह्यो ।
२०४२ सालमा कांग्रेसले पञ्चायकाविरुद्ध सत्याग्रह शुरु गरेको र उक्त सत्याग्रहमा भट्ट पनि सहभागी हुनुभयो । हालका प्रधानमन्त्री शेरबहादुर देउवाका एकदमै निकट रहनुभएका उहाँ लगातार पञ्चायतकाविरुद्ध लडिरहनुभयो । पञ्चायतकाविरुद्ध लडेवाफत तत्कालिन सरकारले उहाँलाई जेलमा समेत राख्यो । पटकपटक गरेर एक महिना जेलजीवन पनि भट्टले बिताउनुभयो । पार्टीमा सक्रिय रहनुभएका भट्ट २०५४ सालमा बैतडी जिविस सभापतिमा लड्नुभयो तर झिनो मतान्तरले जयसिंह महतासंग पराजित हुन पुग्नुभयो ।
उहाँ २०५७ सालमा कांग्रेस बैतडीको सभापतिमा निर्वाचित हुनुभयो । २०५९ मा कांग्रेस फुटेपछि शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकका बैतडी सभापति हुनुभयो ।
२०६४ सालको संविधानसभा निर्वाचनमा उहाँ सांसदको उम्मेदवारका लागि दौडमा रहनुभएको थियो । तर पार्टीले टिकट नदिएर विनयध्वज चन्दलाई उम्मेदवार बनाएपछि उहाँ बागी उम्मेदवारका रुपमा चुनावमा होमिए । तर त्यो समय देशभरी माओवादीको दबदबा रहेकाले माओवादीकी रेनु चन्द विजयी हुनुभयो । चन्द पराजित हुनुभयो । बागी उठेको भन्दै पार्टीले भट्टलाई पाँच वर्षसम्मका लागि कारबाही गर्यो । पार्टीले कारबाही गरेपनि उहाँले कांग्रेसको राजनीति छोड्नसक्नुभएन । त्यसपछि पनि निरन्तर सक्रिय रहनुभयो । गत २०७८ सालमा फेरी पार्टी सभापतिमा लड्नुभयो । तर चतुरबहादुर चन्दको फराकिलो मतान्तरले पराजित हुनपुग्नुभयो । पार्टी सभापतिमा पराजित भएपनि प्रदेशसभाका लागि पार्टीले टिकट दिएपछि उहाँले जित हात पार्नुभएको छ ।


निरन्तर राजनीतिक परिवर्तन, सामाजिक, आर्थिक, शैक्षिक र समग्र विकासका लागि जनताको जनजीविका र राष्ट्रको स्वाधीनताका लागि संघर्ष गरिरहेको राजनीतिकर्मीका रुपमा परिचित भट्टले जनताको सेवामा समर्पित रहने बताउनुभयो । उहाँले भन्नुभयो,“ यो जित मेरो नभएर सम्पूर्ण जनताको हो, सधै जनताको सुख दुखमा साथमा रहनेछु ।”
उहाँले जनताको आवश्यकताअनुसार काम गर्ने,जनताको कुरा सरकारसम्म पुर्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।


भट्टका दुई छोरा,एकछोरी र श्रीमती हुनुहुन्छ । श्रीमती गुहणी,जेठा छोरा नेपालमै आइटीसम्बन्धी काममा रहनुभएको छ । मुम्बईमा बसिरहनुभएका कान्छा छोरा भारतमा संगित क्षेत्रमा र छोरी बलिउडी नायिका हुनुहुन्छ।