अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ


हरेकपल November 26, 2022

जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा दोषी ठहर भएका व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । उनलाई २५ पुस ०५२ मा अदालतको फैसलाले २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर गरेको थियो ।

२७ वर्षदेखि लुकिछिपी बसिरहेका पुजारी थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो । देवनारायण थारु र तत्कालीन श्री ५ सरकारको जाहेरीले चोरी मुद्दामा कैद र जरिवाना ठहर भई हालसम्म फरार रहेका साविक दुधराक्ष–०८ हालको सैनामैना नगरपालिका–०८ वस्ने वर्ष ४९ को पुजारी थारुलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो ।

पक्राउपछि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा शुक्रबार नै कारागार चलान गरिएको छ ।