नेपाली लेखक सङ्घलाई नेपाली कांग्रेसको शुभेच्छुक संस्था बनाउने माग


हरेकपल November 29, 2022

पोखरा । नेपाली लेखक सङ्घ गण्डकी(प्रदेश)को पहिलो सचिवालय बैठकले सर्वसम्मतिबाट निर्णय गर्दै नेपाली लेखक सङ्घलाई नेपाली कांग्रेस पार्टीको वैधानिक शुभेच्छुक संस्थाका रूपमा व्यवस्था गर्न नेपाली लेखक सङ्घ केन्द्रीय कार्यसमितिसित जोडदार माग गरेको छ ।

नेलेसंघ गण्डकी प्रदेश अध्यक्ष डा. ईश्वरमणि अधिकारीका शब्दमा– ‘यस संस्थामा कम्युनिष्ट विचारधाराका र साहित्यमा कित्ताकाट गर्ने सङ्कीर्ण सोच भएकाहरूलाई सदस्यता दिइँदैन । यसमा लोकतन्त्रमा आस्था राख्ने स्रष्टा मात्रै सदस्य हुने व्यवस्था छ । त्यसकारण पनि यो स्वाभाविक रूपमा नेपाली कांग्रेस पार्टीको शुभेच्छुक हो । रूखमा छाप लगाएर कांग्रेस जिताऔँ भन्ने भएपछि नेपाली कांग्रेस पार्टीको वैधानिक शुभेच्छुक संस्था हुनु अपरिहार्य जस्तै भएको पनि छ । मोही माग्ने ढुङ्ग्रो लुकाउने कार्य कवि–लेखकले गर्नु हुँदैन ।’

नेपाली लेखक सङ्घ केन्द्रीय कार्यसमितिले यसै वर्ष २०७९ सालको स्थानीय निर्वाचन र भर्खरैै सम्पन्न भएको सङ्घीय र प्रादेशिक निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन रूख चुनाव चिन्हमा मतदान गर्न विज्ञप्ति नै प्रकाशित गरेर आम मतदातासँग अपील गरेको थियो ।

नेलेसङ्घ गण्डकी प्रदेश सचिवालयको उक्त बैठकले आफ्नो तीन वर्षे कार्यकालमा गरिने कार्यक्रमहरूको खाका तय गर्नुका अतिरिक्त १३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सचिवालयमा अध्यक्ष डा. अधिकारीका साथै निरू केसी, सञ्जीव पौडेल, दीपक समीप, रमेशचन्द्र घिमिरे, लक्ष्मण थापा र अमृत क्षेत्री रहेका छन् ।

महासचिव सञ्जीव पौडेलका अनुसार– सङ्घले सम्भाव्यताका आधारमा आउँदा दिनमा आयमूलक कार्यक्रमका अतिरिक्त विचार गोष्ठी, काव्य–उत्सव, बहसमूलक साहित्यिक कार्यक्रम तथा वैचारिक प्रकाशन सञ्चालन गर्दै जाने छ । कार्यसमितिको विस्तारित बैठकहरू प्रदेश अन्तर्गतका ११ वटै जिल्लाहरूमा क्रमैसित जिल्ला कार्यसमितिहरूसित समन्वय गरी विविध कार्यक्रमहरूसहित गर्ने निर्णय सचिवालयले गरेको छ ।
….