साहित्यकार कृष्ण जोशीको निधन


हरेकपल November 29, 2022

काठमाडौँ l नेपाली साहित्यको गीत, कविता र उपन्यास लेखनमा उल्लेख्य योगदान पु¥याएका स्रष्टा कृष्ण जोशीको ८३ वर्षको उमेरमा सोमबार राति निधन भएको छ ।

सामान्य विरामी भएर प्रदर्शनीमार्गस्थित मोडल अस्पतालमा भर्ना हुनु भएका जोशीको हिजो सोमबार राति निधन भएको हो । साहित्यकार राधेश्याम लेकालीका अनुसार उनको मंगलबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

भोजपुरमा जन्मिएका कवि जोशी ‘मृत्यु दोहोरिन्छ, म बाँचे भने’ उपन्यास (२०३४) लेखेर साहित्यिक जगतमा स्थापित भएका थिए । उनका ‘विसङ्गत स्वरहरू’, ‘पोखरीभित्रको शताब्दी’, ‘आगो समुन्द्र : पानी समुन्द्र’, ‘चित्रदंश’, ‘ज्यामीपत्नीको घोषणा’ लगायतका कविता सङ्ग्रह र ‘असम्मत सम्मत’, ‘काठमाडौं वरिपरि’ उपन्यास समेत प्रकाशित छन् । केही उनका पाण्डुलिपि अप्रकाशित छन् ।

वासु शशी साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष जोशी व्यथित काव्य पुरस्कार, भानुभक्त पुरस्कार, भोजपुरे सेवा समाज साहित्य सम्मान आदिबाट सम्मानित छन् । कवि जोशीका श्रीमती र ४ छोरा रहेका छन् ।

विनम्र स्वभावका जोशीको निधनले कति साहित्यकारले असल मित्र गुमाएको, कतिले शुभचिन्तक गुमाएको त कतिले अभिभावक गुमाएको अनुभूति गरेका छन् ।