प्रायश्चित



  • रामचन्द्र आचार्य

तराईको उखरमाउलो गर्मी भनी साध्ये थिएन । शरीरलाई पसिनाले निथ्रुक्क भिजाएको थियो । उनासी साल वैशाख तीस गतेको स्थानीय निर्वाचनमा आयोगले सुस्तापूर्व नवलपुरको कावासोती नगरपालिकाभित्र ग्रामीण भेकमा मतदान अधिकृतकोे रूपमा खटाएको थियो । सम्बन्धित केन्द्रमा पुगेर आवश्यक तयारीमा व्यस्त थियौँ । मतदानको अघिल्लो दिन पुनः सर्वदलीय बैठक बस्यो । सरकारी स्कुल कोठाको दुईवटा सिलिङ–फ्यानले तातो हावा फालिरहेको थियो । यस्तैमा स्थानीय राजनैतिक दलहरूको बैठक सकेर हामीहरू चियाचमेना गर्न थालेका थियौँ । मैदानमा जनपद र म्यादी प्रहरीको सहयोगमा साथीहरूले मतदान बुथको निमार्ण गरी सक्नुभएको थियो । गाउँका बुढाहरू खानेपानीको टङ्कीनजिकै रहेको पीपलबोटको सिँयालमा बसेर हेरिरहेका थिए । त्यसै मध्येका एक वृद्धले अगाडि आएर ‘बाबुको घर कता प¥यो नि’ भन्दै सोधे । उनले गरेको सम्बोधन मीठासपूर्ण थियो । मैले उनको आशय बुझेर ‘पहाड घर बागलुङ्तिर हो’ भनेँ । उनको अनुहारमा चमक आयो ।

‘हाम्रो पनि बाग्लुङ नै हो । गल्कोटतिर पर्छ । बरु, हजुरको कता नि ?’ आत्मीयता साथ सोधपुछ गरेको हुँदा म पनि झुम्मिएर कुराकानी गर्ने मुडमा आएँ ।

‘मेरो घर त बजारमाथि भान्सातिर पर्छ ।’, भनेँ ।

उनले वृद्धहरूतिर देखाउँदै – ‘त्यहाँ बजारतिरका पनि छन् ।’ भने ।

हामी त्यतै लाग्यौँ । उनले एकएक गरी सबैको पहाड घरसहित परिचय गराए । कसैको एक पुस्ता कसैको तीन–चार पुस्ता पनि भैसकेको रहेछ पहाडबाट झरेको । तीमध्ये एकजना मलिन अनुहारका वृद्ध हाम्रो गाउँठाउँका रहेछन् । उनको अनुहारको नाकको डाँडी हेर्दै मैले लख काटेँ । यिनी पाखाका जेठा बोधराजकाका हुन् भन्ने । यो ठाउँमा भेट होला भन्ने पत्यारै थिएन । मधेस झरेपछि गाउँ गएको थाहा पनि पाइएको थिएन । कसैको वंश चिन्नको लागि नाकको आधार लिइन्छ, भन्छन् । चित्रकारले पनि अनुहारको स्केच गर्दा पहिले नाकनक्शा मिलाएर अगाडि बढ्छन् रे ।

‘तपाईं बोधराज काका होइन र ?’ हातले इसारा गर्दै सोधेंँ ।

‘हुँ ।’ चासोपासो केही नभएजस्तो गरे । उनले नाम सुनेर हो भने । मलाई चिनेकोजस्तो लागेन ।

अर्का वृद्धले ‘तपाईंको गाउँठाउँको हुनुहुन्छ रे । तपाईंलाई चिन्नुभयो ।’ अलि चर्को स्वरमा कानैमा भने ।

अलि टाठो हुँदै मतिर हेर्दै सोधे– ‘कसका छोरा हुनुहुन्छ ?’

मैले उनलाई ‘भक्तिविलासको’ भनेँ ।

उनले मेरो हात समाउँदै लरबराएको स्वरमा सोधे– ‘जेठा कि कान्छा ? दुई भाइ होइन र ?’

‘‘हो ! जेठो हरिप्रसाद हुँ, नोकरी यतै छ ।’

पुराना कुराहरू याद आउन थाले । म विगततर्फ फर्किएँ । उहाँ मेरो बुवाको दौँतरी हुनुहुन्थ्यो । बाटोमा तलमाथि गर्दा ‘दाइ’ भनेर सम्बोधन गर्नुहुन्थ्यो । लैनो भैँसीको जोहो गर्नुप¥यो भने यिनैलाई भने हुन्थ्यो । किलोमै ल्याएर बाँधिदिन्थे । यिनको घर गाउँको छेउतिरको पाखोमा थियो । गाउँमा सबैले पाखाका जेठा भन्थे । गाउँलेहरू यस्तै नामले बोलाउन अभ्यस्त थिए । यिनका दुई भाइ अलि चिड्चिडे स्वभावका तुलोमा जोख्दा बराबर खाले थिए । सानोतिनो झैझगडामा पनि आँगन नाघेर पिँढीसम्म पुग्न बेर लगाउदैनथे । छिमेकीहरू पनि अर्मपर्म सरसापट गर्नमा हिचकिचाउँथे । तीन– चारवटा भैसी पाल्ने बजारमा दुध बेच्ने, पशु चौपायाको खरिदबिक्री गर्ने कामले राम्रो आम्दानी गर्थे । पैसाले चडेका थिए । बिनाप्रसङ्ग ठाउँ–कुठाउँ हामीजस्ता जागिरेलाई निचो देखाउन ‘महिनाको तलब कति हुन्छ ?’ भनी ठाडै सोधी पनि हाल्थे ।

भर्खरभर्खर चीनले पोखरादेखि बागलुङसम्मको लागि मोटरबाटो खन्दै थियो । खच्चडले सामान ढुवानी गर्ने र हुनेले घोडामा सवारी गर्ने यातायातका साधन थिए । बजार छेउछाउका काँठमा बस्नेहरूले वारिपारिका गाउँमा बस्ने नाता कुटुम्बहरूलाई बजारका बासिन्दाझैँ धाक लगाउन पछि पर्दैनथे । उत्तरतिरका गाउँबस्तीलाई ‘ख्वाले’ भनेर हेप्ने गर्थे । चेलीबेटी लेनदेन गर्दा भरसक जोड गर्दैनथे । ख्वालेमा दर्ज भएका ठाउँका भने खै, किन हो ! चेली लिनभन्दा दिन आतुर हुन्थे । दैनिक जोहोको लागि यी गाउँलेलाई भन्दा काँठमा बस्नेहरूलाई बढी सकस थियो । बजारको बेसाह रातिराति घरमा ओसार्थे । गाँउलेहरू बेसाहलाई इज्जत गएको मान्थे । कोदो–मकै मिलाएर भए पनि वर्षकै गर्जो टार्थे ।

पहाड खाने आइमाईले, मधेस खाने गोरुले भन्छन् । घरको काममा कज्याउनको लागि छोराको बिहेबारी कलिलोमै गरिदिएका थिए । स्कुलको पढाइ पनि सकेको थिएन । आफू कखरा भन्दामाथि थिएनन् । छिमेकी भनेको दुःखमा रोईलाई, खुसीमा खाईलाई भन्छन् । यिनको छोराको जन्ती गई दुलही भित्र्याउने हामी छिमेकीलाई खानपानको व्यवस्था पनि थिएन । मुखामुख हँुदै जन्तीहरू घरघर फर्किएका थिए । ‘लोभीको निम्ता सुनी टोपल्नु, ढाँटको भोज खाई पत्याउनु’ भन्ने उखानको झल्को भएको थियो हामीलाई ।

डोलीमा मूल ढोका भित्रिएको दिनदेखि बुहारी जमुनाका कहरका दिन सुरु भएका थिए । चौबीसै घन्टा घरको काममा खटेकी हुन्थिन् । हामी बिछ्यौनाबाट नउठ्दै बजारमा दुध पुराएर फर्केकी हुन्थिन् । मेलापात, अर्मपर्म उनैले धानेकी थिइन् । बिनाकाम बसेको देखिदैनथ्यो । बुहारी होइन बधुँवा मजदुरसरी हाड घोटेको देखिन्थ्यो । छिमेकीलाई तरस नआएको पनि होइन । कठैबरा ! भन्नबाहेक अर्थोक थिएन । सहानुभूति राख्नु भनेको झगडाको बीउ थियो । उनको मनको दुःख पोख्ने साथी नै छैनन् जस्तो लाग्दथ्यो हामीलाई । खाजा खाने चिजबिज त माइतीले नै पठाइरहन्छन् भन्थे छिमेकका महिलाहरू । त्यो घरमा छोरी दिने बाउलाई त सरापै लाग्ने भो भन्ने पनि सुनिन्थ्यो ।

बिनाप्रसङ्ग सासूचाहिँ पानी पँधेरामा बुहारीको उछितो काड्थिन् । ‘ख्वालेकोे छोरीसित गर्जुवामा आएका सामान टटेलामात्र, बज्दो (गहौ) एउटा छैन’ भन्थिन् । बुहारीको पक्ष लागेर कसैले कुरा गरे झगडा सुरु हुन्थ्यो । सुत्केरी हँुदा पनि उनले चैन पाएकी थिइनन् । ‘हरिपदेखि दैव डराई’ थियो ।

दिनहरू यसैगरी बितिरहेका थिए । एक दिन अपरान्हपछि बोधराजको बुहारी घरको धनसारमा पासो लगाएर आत्महत्या गरिन् भन्दै हारगुहार भयो । हामी अफिसबाट फर्कदा प्रहरीले मुचुल्का उठाएर लाशलाई पोस्टमार्टम गर्न अस्पताल पठाइसकेको रहेछ । मानिसहरू झुन्डझुन्ड भएर आपसमा कुराकानी गरिरहेका थिए । त्यति होचो ठाउँमा झुन्डिएर मर्ने कुरा हामीलाई पत्यारै लागेन । त्यसमाथि दोजिया थिइन् भनेर सुन्नमा आयो । मन त्यसै सन्न भएर आयो । पिँडीमा सासू भन्नेको काखमा दुई वर्षे बच्चा थियो । उनले आँसु पुछिरहेकी थिइन् तर हामीले गोहीका आँसु सम्झियौँ।

केही दिनमा प्रहरीले साक्षी प्रतिवेदनआदि कानुनी सबै प्रकृया पुरा ग¥यो । छिमेकी सबैले सारमा ‘आफैँ ज्यानखत गरेको मान्दैनौँ तर यी आँखाले देखिएन’ भन्ने ब्यहोराको बकपत्र गरे । ठूलै सम्पर्क र पहुँच के कसरी पु¥याए छन् ? अड्डाबाट केही समयपछि यिनै छुटेर आए । एक वर्षको फेरोभित्र छोरा पनि छुटेर आयो । ‘दुईटा बेरुवा औँठी गयो’ भन्ने कुरा छिमेकीले सुनियो भन्न थाले । न्याय मरेको देश, जमुनाको आत्माले कतैबाट न्याय पाएन । न घर न माइती, न समाज न अदालत । छिमेकीहरूले एउटै मतो गरी त्यो परिवारलाई बहिष्कार गर्ने, लेनदेन र सम्बन्ध नराख्ने निर्णय गरे । अरू गर्न सक्ने के थियो र ! थकथक मान्दै सबै आफ्नै सुरमा फर्किए ।

त्यसको एकाध महिनापछि दुबै भाइले सबै लट्टीपट्टी बेचबिखन गरेर मधेस झरे रे भन्ने सुनियो । आज यस्तो माहौलमा करिब तीस बर्षपछि उनैसँग भेट भयो । यो भेटले मेरो मनमा कुनै हर्ष पनि आएन । बिस्मात् पनि लागेन ।
– – –
‘यिनले धेरै दुःख पाएका छन् हजुर । छोरा बुहारीले झुक्क्याएर जग्गा, जमिन बेची भरतपुर सरे । घरमा बस्नै दिएनन् । न खानेको ठेगान छ, न बस्नेको ठेगान छ ।’ एकजना वृद्धले मसँग फिराद गरे । मानौँ मैले कुनै उपाय लगाउन सक्छु । उनको अनुहारतर्फ हेरेँ मैले । उनी मबाट उत्तर आउने प्रतीक्षामा थिए ।

‘देवघाटमा पु¥याई दिनु न । उतै बस्छन् । खान बस्न पाइन्छ । कि यतै वृद्धाश्रम भए राखिदिनू ।’ भनेँ ।
‘कतै पनि ठहरेनन् । उकुसमुकुस हुन्छ भन्छन् । मन मान्दैन हिँडी राख्नुपर्छ भन्छन् । जोई पनि छिट्टै खसिन् । कडा रोग रहेछ । क्यान्सरै रहेछ । रगतै छादेर मरिन् बिचरी ! दुःख पाए पनि मरेर जानेले सुख पायो । यिनी बितरा परे ।’

बुढाहरूको यी कुराले अक्क न बक्क परे पनि मेरो मनमा भने सहानुभूति जाग्न सकेको थिएन । दिन ढल्किँदै गएको थियो । घाम अस्ताइसकेका थिए । एकएक गर्दै बुढाहरू उठ्दै हिँड्न थाले । कसैले यिनलाई जाउँ पनि भनेनन् ।

एक्लै भएपछि कुरा गर्न रहर जागेजस्तो गरे । आँखाका चेपहरू रसिला बनाउँदै भने — ‘यता आएपछि छोराले मतवाली केटी लिएर आयो । उनीहरू भच्छे, अभच्छे खानपिन गर्न थाले । सँगै बस्न सकिएन । एउटै घरमा छुट्टिएर बसेका थियौँ । एउटै छोरो त्यो पनि दुष्ट भएर निस्कियो । झुक्क्याएर सबै बेचेर भरतपुर स¥यो । अरबतिर जाने–आउने गर्छ रे । बुहारीले सहन्न । म त्यता जान्न ।’ खोपिल्टा परेका गालाबाट बर्र आँसुका थोपाहरू बलेनीबाट पानी झरेझैँ झारे ।

यिनको अवस्था देख्दा साह्रै टिठ लागेर आयो । अधबैँसमा हट्टाकठ्ठा देखेको मान्छे आज निःसहाय थिए । उमेरले भन्दा पनि सन्तापले फत्रक्कै गलेका थिए । अनुहार पढ्दा मनभित्र शान्ति कत्ति पनि थिएन । मनको अशान्तिले तड्पिई रहेका थिए पानी बाहिरको माछाझैँ । मुखमुद्रामा कुनै चहक थिएन, क्लान्त थिए । उमेरमा गरेको ठूलो अपराधको पीडाले थिचिरहेको जस्तो थियो । त्यही पीडाबाट उम्कन खोज्दै थिए । कुहिराको कागझैँ भौँतारिरहेका थिए । मार्ग पहिल्याउन सकेका थिएनन् ।

मैले सान्त्वना दिने भावमा सोधेँ — ‘बुहारीको पाप लाग्यो कि काका ?’

उनले हातका पञ्जा भुइँमा बजार्दै — ‘यिनै हात हुन् त्यो पाप गर्ने ।’ भन्दै हातमैं थुक्न थाले । एक छिनपछि सुक्सुकाउँदै रुन थाले । मैले वृद्ध मानिस यसरी रोएको देखेको थिइनँ । मेरो मनलाई एकछिन त विदीर्ण बनायो । के कुरा गरुँ ? होसै रहेन ।

उनले मलाई हरिबाबुको सम्बोधन गर्दै भने — ‘त्यो गाईजस्ती सोझी प्राणीको घाँटी यिनै हातले पेटमाथि कुल्चेर थिचेको हो । छोरोले गोडा च्याप्यो, आमाले हात च्यापी । आमा भन्न पाइन उसले । अनि पासोमा लगाएर राख्यौँ । हामी अपराधी हौँ अपराधी । तिकडम लगाएर अदालतबाट छुटकारा त पाइयो तर हाम्रो मनले कहिल्यै छुट्कारा दिएन । सधैँ अपराधी भनिरह्यो, खेदिरह्यो । अझै हाम्रो मनमा नयाँ बुहारी भित्र्याएर सम्पत्ती जोड्ने सपना थियो । थुक्क हाम्रो बुद्धि !’

उनी एकछिन शान्त भएर झोक्राएर बसे । मलाई यिनको मनमा अझै केही छ जस्तो लाग्यो । ओठ चलिरहेको थियो । मेरो गोडा समाउँदै रुन्चे स्वरमा भने – ‘बाबु ! म व्यभिचारी हुँ, बुहारीप्रति व्यभिचारी थिएँ ।’

खसीको भुँडी फुत्तबाहिर निस्केझैँ बाँकी कर्तुत पनि बाहिर आयो । यो कुराले मेरो छातीमा ढक्क भयो । शिरदेखि पैतला सिरिङ्ग गरे । यिनको आँखाबाट पानी झरीझैँ बगिरहेको थियो । यति ठूलो अर्को अपराध मैले कल्पना पनि गरेको थिइनँ । यति धेरै अपराध बोकेर मान्छेहरू कसरी सास फेर्छन् ? कसरी जिउन सक्छन् ? सोच्दा नै आङ सिरिङ्ग भएर आयो । मनभित्र थुप्रिएका उकुसमुकुस सबै बाहिर आएर होला अलि हलुङ्गोजस्तो देखिए उनी ।

‘कसैको प्राण लिने हक ईश्वरसँग मात्र छ, अरू कसैँ सँग छैन’, मैले भने— ‘तपाईंहरूले अक्षम्य अपराध गर्नुभएको छ । पश्चातापले यो पापबाट मुक्ति मिल्दैन । जन्मजन्मान्तरको प्रायश्चित गर्नुपर्छ ।’ मैले यसो भन्दा उनी आज्ञाकारी बालकझैँ सुनिरहेका थिए ।

बीचमा मेरो कुरा काट्दै बोले — ‘म फाल हाल्न नारायणीको तिरैतिर कति धाएँ कति, तर केले रोक्यो, रोक्यो ! मर्न चाहेर पनि मर्न सकिनँ । सहज मृत्यु पनि उपहार रहेछ । यो उमेरमा ज्ञान भयो । अब जति बाँच्छु प्रायश्चित गरेर बस्छु । बरु के उपाय छ, बाबु !?’

म केहीबेर सोचमग्न भएँ – खै, मलाई थाहा नै भएन । कुन विधि हो पापको प्रायश्चित गर्ने ? शास्त्रले के भन्छ ? स्नान गरी तप साधनामा बस्नू । स्नानपछि गौदान गर्नू । पीठहरूको तिर्थाटन गर्नू । अझै निराहार व्रत गर्नु र भगवानप्रति भक्तिभाव राख्नू । पर्र्याप्त छन् यी विधिहरू ।’ प्रायश्चित पूरा भयो त ! यसरी पापकर्मको मार्जन हुन्छ त ! हाम्रो शास्त्रबमोजिमको प्रचलित चन्द्रायण विधि नै अन्तिम परिशोधनको माध्यम हो त ! एकछिन म आफैँ पनि ट्वाल्ल परिरहेँ । आखिर म पनि कुनै पण्डित त होइन निर्णयसिन्धु नै पल्टाएर ब्याख्या गर्न सक्ने !

म चुपचाप भएको देखेर यिनले मलाई विनित भावमा भने – ‘भन्नुहोस् न हरिबाबु ! अब म के गरूँ ? कुनै उपाय छैन ?’

काकाको यो आग्रहलाई नकार्न सक्ने शक्ति ममा थिएन । मेरो पूर्वाग्रहको क्लेश पनि घट्दै गएको थियो । मैले उनलाई एउटा कथा सुनाएँ — ‘हेर्नुस् काका ! तपाईंलाई थाहा नै होला रामायणको कथा । त्रेतायुगमा भगवान् रामले रूखको छेल पारेर बालीलाई वाण हानेर मारेका थिए । त्यसबेला बाली र सुग्रीवको बीचमा युद्ध भैरहेको थियो । रामको यो अपराध थियो । द्वापर युगमा भगवानको कृष्णको रूपमा अंशअवतार भयो । कृष्णलाई एउटा ब्याधाको वाण लागेर मर्नुपर्यो । त्यो ब्याधा त्रेता युगको बालीको पुनर्जन्म थियो । भगवानले त कर्मफल भोग्न जन्म लिनुपर्छ भने हामी त मनुष्य हौँ । कर्मफल भोग्न कसरी रोक्न सकिन्छ र ? यो सबै विधाताको खेल हो । तपाईं हामीलाई उसैले खेलाइरहेको छ । हामीले सत्मार्गको पथ त्याग्नु हुँदैन । बाँकी जीवन जिउने कला ज्ञान, भक्ति र योगबाट नै सिक्ने हो ।’

उनको अनुहारमा चमक आएको देखेँ । कुराले घत परेछ । साँझ पर्न थालिसकेको थियो । उनी हिँड्ने तरखर गर्दै उठे । मैले केही पैसा इस्टकोटको पकेटमा राखिदिएँ । आभारी भएको भाव व्यक्त गरे । स्कुलको चौर कटेर मूल बाटो पक्रिए । यिनी सँगसँगै बत्तीको प्रकाशले बनाएको ठूलो छायाँ पनि हिँडिरहेको थियो । मलाई किन हो, गरुड पुराणमा भोक र प्यासले आक्रान्त भएको प्रेतात्मा प्रचण्ड गर्मीमा बैतरणी नदीतर्फ हिँडिरहेको याद आयो ।

भोलिपल्ट हाम्रो केन्द्रमा शान्त वातावरणमा मतदान भैरहेको थियो । अपरान्हतिर स्कुलको बाटो हुँदै एक हूल मलामीहरू शव लिएर खोलातर्फ जाँदै गरेको देखियो । बुझ्दा त्यो शव बोधराज काकाको रहेछ । मलाई काकाले प्रायश्चितको यात्रा सुरु गर्नु भएछ भन्ने लागेर आयो ।