पदलोलुप स्रष्टाहरूको निर्लज्जता र अनैतिकता


हरेकपल December 8, 2022

काठमाडौँ । नेपाली लेखक संघले एक विज्ञप्ति प्रकाशित गरी नेपाल प्रज्ञा–प्रतिष्ठानको निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीलाई आजीवन सदस्य बनाउने चलखेलको कडा शब्दमा भर्त्सना गरेको छ । यस विज्ञप्तिले नेपाली साहित्य जगतमा भएका केही पदलोलुप स्रष्टाहरूको निर्लज्जता र अनैतिकताको चर्चाले बजार तातेको छ ।

आफू अनुकूल कार्यविधि संशोधन गरी आफैंले गठन गरेको समितिद्वारा आफ्नै नाम सिफारिस गरेको नेपाली लेखक संघको विज्ञप्तिमा उल्लेख छ, यस कार्यकालको अन्तिम प्राज्ञसभा भनेर साउन ३० मा बोलाइसके पनि निहित स्वार्थपूर्ति गर्नकै लागि उप्रेतीले जालसाजीपूर्ण तरिकाले गर्न लागेको प्राज्ञसभा रोक्न पनि संघले माग गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्ले आजीवन सदस्यमा कार्यकाल सकिएका निवर्तमान कुलपति गंगाप्रसाद उप्रेती र साहित्यकार तथा प्राज्ञ सभा सदस्य आरडी प्रभास चटौतको नाम सिफारिस गरेको हो ।

मुलुकमा निर्वाचन आचारसंहिता लागू भइसकेको समयमा उप्रेतीले आफैं आजीवन सदस्य बन्नका लागि सिफारिस समिति बनाउन लगाएका थिए । वि.सं. २०७९ असोज २४ मा बनेको सिफारिस समितिको सम्बन्धमा असोज २७ मा निर्वाचन आयोगले स्पष्टीकरण सोध्दा निमित्त सदस्यसचिव हेमनाथ पौडेलले असोज ३० मा एक पत्रमार्फत् स्पष्टीकरणमा आजीवन सदस्यतासम्बन्धी कुनै निर्णय नगरिएको बताए । यस स्पष्टीकरणका आधारमा भन्ने हो भने उप्रेती आजीवन सदस्य बन्ने सिफारिस भएकै छैन । यदि सिफारिस छ भन्ने हो भने त्यो कीर्ते ठहरिन्छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य–सचिव सनत रेग्मी भन्नुहुन्छ, ‘उप्रेतीलाई आजीवन सदस्य बनाउनका निम्ति नेपाल प्रज्ञा–प्रतिष्ठान मानार्थ प्राज्ञ सदस्यता एवं आजीवन सदस्यता प्रदान गर्नेसम्बन्धी मापदण्ड तथा कार्यविधि– २०६९ संशोधन गरिएको छ । यो निर्लज्जताको पराकाष्ठा हो । तारानाथ शर्मा र सत्यमोहन जोशी जस्ता मूर्धन्य स्रष्टाको निधनमा शोकसभासम्म गर्न आवश्यक नठान्ने उप्रेतीलाई तिनकै रिक्त स्थानमा आजीवन सदस्य बनाउनु ती स्रष्टाको अपमान पनि हो ।’

कुनै बेला विश्वभाषा क्याम्पस प्रमुख भएका उप्रेती २०५३ सालमा बी.पी. क्यान्सर अस्पतालका अध्यक्ष थिए । नेपाल प्रज्ञा–प्रतिष्ठानमा मात्रै एक कार्यकाल उपकुलपति र दुई कार्यकाल कुलपति भएर १२ वर्ष सुविधा भोग गरे ।

निवर्तमान सदस्यसचिव जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ उप्रेतीसँगै प्रज्ञा–प्रतिष्ठानबाट बाहिरिए पनि उनको बास अहिले प्रज्ञा–प्रतिष्ठानमै छ ।

बजारमा आजीवन सदस्यताको विषय विवादमा रहँदा पनि प्रगतिशील लेखक संघ भने यस विषयमा मौन छ । यसलाई स्रष्टाहरूको पदलोलुपतासँग जोडेर हेरिँदै छ । यसलाई नेपाल प्रज्ञा–प्रतिष्ठानको अब गठन हुने प्राज्ञ–सभा र परिषद्मा आफ्नो भाग सुरक्षित गर्ने दाउका रूपमा अर्थ्याउन थालिएको छ । जबर्जस्ती आजीवन सदस्यताको निर्णय भएमा यसलाई बदर गर्न केही स्रष्टाहरू अदालतसमेत जाने भएका छन् ।