फूलले जन्मदिन मनाउँदैन


रमेश सायन December 10, 2022

  • रमेश सायन

ओठका इन्द्रेणी रेसाहरू
घामले पोतेको घरको संघार,
शीतका थोपाहरूमा टल्केको फूलको प्रतिबिम्ब
वसन्तको मुनाहरूमा खसेको यौवन,
सबैथोक बिर्सेर गयो
मेरो जन्मदिन ।

तर,
पोहोर सालभन्दा,
आज उत्ताउलिएर फुलेको छ,
घर छेउको बूढो शिरीषको बोट,
गमलामा फुलेको गुलाबको फूल,
किन, मभन्दा बूढो हुँदैनन् फूलहरू ?
के फूलहरूले ऐना हेर्दैनन् ?
कि फूलहरूले जन्मदिन मनाउँदैनन् ?